arrow
ADVERTISEMENT

हरिप्रसाद रिमालको जन्मशताब्दीमा राष्ट्रिय नाटक महोत्सव, प्रथम पुरस्कार एक लाख 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
rimal-pressmeet-81-5-24.jpg

काठमाडौँ । प्रसिद्ध नाट्यकर्मी हरिप्रसाद रिमाल र उनकी धर्मपत्नी कल्याणीका नाममा स्थापित ‘हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत प्रतिष्ठान’ले यही भदौ र असोजमा तीन दिनसम्म ‘प्रतियोगितात्मक राष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना गर्ने भएको छ । 

खस्कँदो नेपाली मौलिक रङ्गमञ्चलाई पुनःजीवन दिने उद्देश्यले यही भदौ ३०, ३१ र असोज १ गते यहाँस्थित सांस्कृतिक संस्थान अर्थात् राष्ट्रिय नाचघरमा छ वटा नाटक प्रदर्शन गरिनेछ । 

प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका सदस्य सचिव सम्राट सापकोटाले प्रतियोगिताका लागि प्राप्त ३२ नाटकमध्ये छ वटा छनोट गरी प्रदर्शन गरिने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा उत्कृष्टमध्ये पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार नगद तथा ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ ।

नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई पनि जनही रु १५ हजार तथा छनोट भएका छ नाटक समूहलाई नाटक अभ्यासका लागि रु २०–२० हजार दिइनेछ ।  

छनोट भएकामध्ये हरेक दिन दुई–दुई नाटक प्रदर्शन हुनेछ जसको समयावधि एक–एक घन्टाको हुनेछ । 

नाट्यकर्मी, चलचित्रकर्मी तथा ‘रेडियो नेपाल’का प्रथम गायक रिमालको जन्मशताब्दीका अवसरमा आयोजना हुने सो महोत्सवमा दुई वर्षका कार्यक्रम एकै पटक हुने र केही व्यक्तित्वलाई ‘शताब्दी स्मृति सम्मान’ पनि गरिने प्रतिष्ठानका सहसदस्य सचिव घनश्याम गौतमले जानकारी दिए ।
 
रिमालका ज्येष्ठ सुपुत्र अरुणप्रसादले नेपाली मौलिक नाटकको अवस्था दयनीय भएकाले यसलाई झक्झक्याउनका लागि प्रतिष्ठानले सो महोत्सव आयोजना गर्न लागेको स्पष्ट गरे । 

नाट्यकर्मी रिमालका नाटक नेपाली समाजको वास्तविकता, यथार्थ र स्वभाविकतामा आधारित हुने गर्दथ्यो । उनले ‘के घर के डेरा’ शीर्षक चलचित्रमा अभिनय पनि गरेका थिए । ‘विनुबादल असिना पर्दैन, माया लाग्छ बोलाउन सक्दिन’ ‘फगत एक नजरमा’ लगायतका गीतमा उनले स्वर दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ