arrow

उपसभामुख रानालाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह

अर्को देशको राजदूतावासलाई पत्र लेख्नु संसदीय व्यवहार नभएको निष्कर्ष [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
shayam-prasad.jpg

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानालाई आफैँ मार्ग प्रशस्त गर्न आग्रह गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले बैठकले सत्तारुढ दलहरूको बैठक बसेर उपसभामुखबारे साझा धारणा बनाउने निर्णय भएको बताए । उनले अनाधिकृत रूपमा उपसभामुखले असम्बन्धित व्यक्तिहरूलाई आफूसँगै कार्यक्रममा लैजान दिन भनेर अर्को देशको राजदूतावासलाई पत्र लेख्नु संसदीय व्यवहार नभएको निष्कर्ष निकालेको बताए । 

उपसभामुख आफैँले राजीनामा दिनुपर्ने र अर्को देशको राजदूतावासको सम्बन्धका विषयलाई लिएर गर्नै नहुने काम गरेको कांग्रेसको निष्कर्ष रहेको बताए । उनले उपसभामुखले पत्र लेखेर कूटनीतिक नियोगलाई आग्रह गर्न नमिल्ले र गर्नुपर्ने भए सचिवालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै जानुपर्ने बताए । उपसभामुखको सो कार्यले संसद्लाई अपमानित गरेको र मुलुकको शिर झुकाएको बताए । 

उनले भने, ‘भ्रातृ संस्थाका निर्देशक समितिहरू बनाउने भन्ने कुरादेखि लिएर पार्टीका अन्य भ्रातृसंघ संस्थाका विषयहरू छन् । उपसभामुखको विषयमा पनि धेरै कुराहरू आएको छ, उठेको छ । त्यो विषयलाई पनि कसरी निराकरण गर्ने भन्नेबारेमा केन्द्रित भएर नै छलफल अघि बढ्यो । उनमाथि जुन ढङ्गले प्रश्न उठ्यो, उनले अनाधिकृत रूपमा उनले गर्नै नहुने ढङ्गले आफू जाने कार्यक्रममा मैसँग जाने हुन् यी मान्छे भनेर त्यो कार्यक्रममा असम्बन्धित मान्छेहरूको बारेमा आफ्नो लेटरहेडमा लेखेर जुन सिफारिस गरे, त्यो संसदीय व्यवहार भएन । संसद्को उपसभामुख जस्तो पदमा बसेर त्यो व्यवहार गर्नु अत्यन्तै अनुचित थियो । यो फागुनतिर भएको हो, साउनमा बाहिरियो । त्यो बेला पनि कुरा उठेर सेलायो । अहिले जोडदार रूपमा प्रश्न आयो । त्यो विषयमा छलफल गर्नुपर्ने आवश्यकता पर्‍यो र हामीले पनि छलफल गरेका छौँ । यो विषयमा कसरी जाने भन्ने कुरा संसदीय दलको बैठक बसेर हामी पार्टीको निर्णय लिन्छौँ । सत्तारुढ दलहरूसँग छलफल गरेर पनि सत्तारुढ दलहरूबाट साझा धारणा बनाउँछौँ । उनले आफैँले राजीनामा दिनुपर्छ । उनमाथि गम्भीर प्रश्न उठेको हो । यो चानचुने प्रश्न होइन । एउटा अर्को देशसँगको सम्बन्ध, अर्को देशको राजदूतावासको सम्बन्धका विषयलाई लिएर उनले गर्नै नहुने काम गरे । उपसभामुखले लेखेर कूटनीतिक नियोगलाई त्यस्तो सिफारिस गर्नै मिल्दैन । गर्नुपर्ने भएदेखि उनको सचिवालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै जानुपर्ने हो । यसले संसद्लाई नै अपमानित गरेको छ । यो विषय गम्भीर छ, यसले मुलुकको शिर झुकाएको छ । मुलुकलाई पनि अपमानित गरेको छ भन्ने कांग्रेसको बुझाइ छ । यो सबै प्रक्रियामा जानु भन्दा उनले आफैँले बुझेर मार्ग प्रशस्त गर्नु, बहिर्गमनको बाटो रोज्नु जायज हुन्छ ।’

प्रमुख सचेतक घिमिरेले उपसभापति धनराज गुरुङको विषयमा छानबिनबाट दोषी ठहर भए कारबाही भोग्ने र त्यसको छानबिन गराउन कांग्रेस तयार रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ