- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत क्यानाडासँग लज्जास्पद हार बेहोरेको छ । गएराति क्यानाडाको किंग सिटीमा सम्पन्न खेलमा नेपालले १०३ रनको फराकिलो हार बेहोरेको हो ।
क्यानाडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै १५० रनमात्र बनाउन सक्यो । अग्रपंक्तिका ब्याट्सम्यानहरु सबै फ्लप भएको अवस्थामा नेपालका लागि करण केसीले सर्वाधिक २७ रन बनाएका थिए ।
त्यस्तै सन्दीप लामिछानेले २२, आसिफ सेखले २०, भीम सार्कीले १८, गुल्सन झाले १५, कुशल मल्लले १२ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ८, सोमपाल कामीले ६, कप्तान रोहित पौडेलले ५ तथा कुशल भुर्तेलले १ रन बनाए ।
क्यानाडाका प्लेयर अफ द म्याच डिलोन हेयलिगेरले सर्वाधिक ५ विकेट लिएका थिए । त्यस्तै अखिल कुमार र अंश पटेलले २–२ तथा साद बिन जफरले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । क्यानाडाका लागि कप्तान निकोलस कृतनले सर्वाधिक ७३ रन बनाएका थिए भने नवनीत धालिवालले ४८ रन बनाएका थिए ।
सोमपाल कामी र ललित राजवंशीले २–२ तथा सन्दीप लामिछाने, गुल्सन झा र कप्तान रोहित पौडेलले १–१ विकेट लिएका थिए ।
यो जितपछि क्यानाडा लिग २ मा ९ खेलमा १० अंक हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।
नेपालको भने लिग २ मा यो चौथो हार हो । ५ खेलमा एक मात्र जित हासिल गरेको नेपालको २ अंक छ र अंक तालिकामा सातौँ स्थानमा छ ।
अब नेपालले अर्को खेल बुधबार ओमानविरुद्ध खेल्ने तालिका रहेको छ ।