arrow

जितियाले एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
bidhya-bhandari.jpg
फाइल तस्बिर

मोरङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले विभिन्न जातजाति, भाषाभाषी र भूगोलका समुदायबीच एकता र समझदारीको भावनालाई सबल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउने बताएकी छन् ।

अप्पन विराटगढ समाजद्वारा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्राङ्गण विराटनगरमा आयोजित १३औँ अन्तर्राष्ट्रिय जितिया पर्व समारोहमा पूर्वराष्ट्रपति भण्डारीले भौगोलिक, सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वले समुदायकाबीचमा विश्वास, सहयोग र सद्भावको भावनालाई प्रगाढ बनाउने बताइन् ।

“मुलुकभित्र रहेका विभिन्न जातजाति, भाषाभाषी र भूगोलका समुदायकाबीच समझदारी र एकताको भावनालाई सबल बनाई बृहत् राष्ट्रिय एकतलाई जितिया पर्वले सुदृढ बनाउने अपेक्षा लिएको छु”, उनले भनिन्, “समृद्ध मिथिला सभ्यता र मैथिली भाषा संस्कृति, लोककला र परम्परालाई अक्षुण र पवित्र राख्ने उदेश्यले गरेको कार्य प्रशंसनीय रहेको छ ।”

उनले जनक नन्दनी सीताको जन्मस्थल रहेको यस क्षेत्रमा आजसम्म पनि जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास, अशिक्षा र गरिबीको समस्या हुनु हाम्रा लागि चुनौतीको विषय भएको बताइन् । 

पूर्वराष्ट्रपति भण्डारीले अझै पनि बालविवाह, अनमेल विवाह, दाइजो र बोक्सीजस्ता कुप्रथा कायम हुनु निकै दुःखद् विषय भएको भन्दै यसलाई हटाउन प्रयास जारी राख्नुपर्ने सुझाव दिइन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वी झापादेखि मुलुकको मध्य खण्डसम्म मनाइँदै आएको जितिया पर्वको महिमा ठूलो रहेको बताए । उनले जितिया पर्व नेपालीको सांस्कृतिक पहिचानको पर्व भएको बताए ।

मुख्यमन्त्री कार्कीले जितिया पर्वलाई अझ भव्य बनाउनका लागि सरकारले आवश्यक आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने बताए । 

जितिया पर्वमा मिथिला क्षेत्रका आमा दिदीबहिनीले आफ्ना छोराछोरी र परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उपवास बस्ने प्रचलन छ ।

कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त मैथिली कलाकर्मीले गीतसङ्गीत र झाँकी प्रदर्शन गरेका थिए । सोही अवसरमा मैथिली समुदायका अगुवालाई सम्मानित गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ