arrow

अफगानिस्तानको सनसनीपूर्ण कीर्तिमान, दक्षिण अफ्रिकाविरुद्धको श्रृंखलामा कब्जा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ५ शनिबार
afg-sa-rashid-khan.jpg

काठमाडौँ । अफगानिस्तानले जारी एक दिवसीय क्रिकेट श्रृंखलामा दक्षिण अफ्रिकालाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । गएराति सम्पन्न खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई १७७ रनको फराकिलो अन्तरले पराजित गर्दै श्रृंखलमा २–० को जित हासिल गरेको हो ।

अफगानिस्तानले दिएको ३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३४.२ ओभरमा १३४ रन बनाउँदा अल आउट भएपछि खेल अफगानिस्तानले १७७ रनले जितेको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमाले सर्वाधिक ३८ रन बनाए भने टोनी डि जोर्जीले ३१ तथा एडेन मार्क्रमले २१ रन बनाएका थिए । 

दक्षिण अफ्रिकाको ब्याटिंग लाइन ध्वस्त गर्न अफगानिस्तानका राशिद खानले सर्वाधिक ५ विकेट लिएका थिए । राशिदले ५ ओभरमा एक मेडनसहित १९ रन दिएर ५ विकेट लिएका थिए । 

राशिद आफ्नो जन्मदिनको अवसरमा पाँच विकेट लिएका हुन् । त्यस्तै अर्का बलर नान्गेयालिया खारोटेले ४ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले रह्मतुल्लाह गुर्बाजको १०५ रनको शतकीय इनिङ्स र अज्मतुल्लाह ओमारजाईको ८६ रनको योगदानमा ५० ओभरमा ४ विकेट गुमाएर ३११ रन बनाएको थियो ।

यो जितसँगै अफगानिस्तानले ३ खेलको श्रृंखला एक खेल अघि नै २–० ले जितेको छ । यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो पटक एकदिवसीय खेल जितेर कीर्तिमान बनाएको अफगानिस्तानले दोस्रो खेल पनि जितेर दक्षिण अफ्रिकाविरुद्ध पहिलो श्रृंखला पनि जितेको छ । 

अफगानिस्तानको एक दिवसीय क्रिकेट श्रृंखलामा यो सबैभन्दा ठूलो सफलता हो । 

अब श्रृंखलाको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ