arrow

भारत र चीनसँग पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न पहल भइरहेको छ : मन्त्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
badri-panday-minister-prayatan.jpg

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि पहल भइरहेको बताएका छन् ।

यसका लागि आफूले भारत र चीन सरकारका अधिकारीसँग कुरा गरेको र नेपाल सरकारको विभिन्न तहबाट पनि यो बिषयलाई उच्च प्राथमिकतामा राखेर पहल भइरहेको मन्त्री पाण्डेले स्पष्ट पारे ।

नेपाली कांग्रेस गण्डकी प्रदेश र्कासमितिले पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले नेपालमा विमानस्थलको संख्या धेरै तर विमान कम भएको भन्दै ती विमान उड्ने नेपाली आकाशसमेत सुरक्षित नभएको सन्देश प्रवाह हुँदा पर्यटकको आगमन बढ्न नसकेको दावी गरे ।

मन्त्री पाण्डेले नेपालको हवाइमार्ग सुनिश्चित र सुरक्षित छ भन्ने सन्देश विदेशमा पुर्याउन आवश्यक रहेको स्पष्ट पारे ।

पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न सकेमा भारतीय हिन्दू र अन्य विभिन्न मुलुकका बौद्ध धर्मावलम्बीलाई नेपालमा भित्र्याउन सकिने उनले तर्क गरे ।

अर्को प्रसंगमा मन्त्री पाण्डेले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै गएको कारण नेकपा एमालेसँग मिलेर सरकार बनाउनुपरेको जिकिर गरे ।

कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेले भने, “राजनीतिक अस्थिरताको कारण धेरै खालका अस्थिरता बढ्दै गएपछि सबै किसिमको अस्थिरता अन्त्य गर्नको लागि एमाले र कांग्रेसको बिचमा सहकार्य भएको हो, अब यो सहकार्यलाई २०८४ को चुनावसम्म लैजाने र त्यसपछि स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।”

एमालेसँग मिलेर सरकार चलाउँदा मन्त्री स्तरमा, पार्टीको विभिन्न तहमा एवं कार्यकर्ता तहमा दुई पार्टीको सम्बन्ध के कस्तो हुने भन्ने सम्बन्धमा पार्टीले स्पष्ट नीति बनाउनुपर्ने र स्वस्थ प्रतिस्पर्धा गर्ने किसिमले नै सहकार्य हुनुपर्नेमा उनको जोड थियो ।

नेपाल जातीय एवं भाषिक दृष्टिकोणले मात्र नभएर भौगोलिक र प्राकृतिक दृष्टिकोणले समेत विविधतायुक्त मुलुक रहेको उनले बताए ।

मन्त्री पाण्डेले भने, “अहिले नेपालमा आठ वटा थपेर एक सय ३१ वटा बोलीचालीको भाषा पुगेको छ, यसका साथै यहाँका हिमशृंखला र वलजंगल समेतको विविधतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सक्ने हो भने नेपालको पर्यटकीय विकासले गति लिने र आर्थिक रुपमा समेत देशलाई समृद्ध बनाउन सकिन्छ ।”

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले नेपाली कांग्रेसबाट सरकारमा गएका मन्त्रीले चुनौतीको सामना गर्दै देश र जनताको पक्षमा परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिए ।

शिक्षा, संस्कृति र परम्परालाई बिग्रिन दिन नहुने भन्दै सभापति शमौले कांग्रेस गण्डकी प्रदेशले प्रदेशको विकासको लागि ‘संकल्प’ तयार गरेकोले त्यसको आधारमा गण्डकी प्रदेशको विकास अघि बढोस् भन्ने आफूहरुको चाहना रहेको स्पष्ट पारे ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बाँस्तोला मधुले पार्टी र सरकार बीच समन्वय आवश्यक रहेको भन्दै आम सर्वसाधारण र पार्टीका कार्यकर्तालाई निराश हुन नदिने गरी काम गर्नुपर्ने बताए ।

सहमहामन्त्री पाण्डे पार्टीको कास्की जिल्ला समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा पनि सहभागी भएका थिए ।

पर्यटनमन्त्री पाण्डे बुधबार पोखरामा हुने ‘पोखरा पर्यटकीय राजधानी-नीति संवाद कार्यक्रम’ मा सहभागी हुनेछन् ।

कार्यक्रममा सात वटै प्रदेशका पर्यटन मन्त्रीकोसहभागिता रहने छ । कार्यक्रममा पोखरा र पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने र छलफल गरिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ