- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । युरोपेली सङ्घ (ईयू) ले बिहीबार रुसमाथि ठूलो हवाई आक्रमणको जवाफमा आणविक प्रतिक्रिया दिने अधिकार दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई ‘लापरवाहीपूर्ण र गैरजिम्मेबार’ भन्दै अस्वीकार गरेको छ ।
पुटिनले बुधबार अद्यावधिक आणविक सिद्धान्तको घोषणा गरे । युक्रेन र उसका पश्चिमी समर्थकहरूका सन्दर्भमा आणविक शक्तिहरूद्वारा समर्थन गरिँदा यसले रुसलाई गैर–आणविक राज्यहरूविरुद्ध आणविक हतियारको प्रयोगलाई अनुमति दिनेछ ।
ईयूका विदेश नीति प्रवक्ता पिटर स्टानोले पत्रकारहरूसँग भने, “पुटिनले आफ्नो आणविक शस्त्र भण्डारसँग जुवा खेलिरहेको यो पहिलो पटक होइन, हामी अवश्य यी धम्कीहरूलाई दृढतापूर्वक अस्वीकार गर्दछौँ ।”
पुटिन स्वयंले स्वीकृत गर्नसक्ने रुसको आणविक नियमहरूको प्रस्तावित विस्तार युक्रेनले पश्चिमी सहयोगीहरूबाट रुसभित्र गहिरो लक्ष्यहरूमा आक्रमण गर्न लामो दूरीका हतियारहरू प्रयोग गर्न अनुमति मागिरहेको बेला आएको हो ।
रुसका हवाई अड्डा र सैन्य पूर्वाधारहरूलाई निशाना बनाउन आवश्यक रहेको किएभले बताउँदै आएको छ । किएभका अनुसार ती हवाई अड्डा र सैन्य पूर्वाधारलाई रुसले युक्रेनमाथि आक्रमण गर्न प्रयोग गर्छ । अमेरिका र अन्य पश्चिमी मुलुकहरू भने थप तनाव बढाउनबाट सावधान रहेका छन् ।
यसअघि बिहीबार क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले योजनाबद्ध परिवर्तनहरूलाई पश्चिमका लागि ‘विशिष्ट सङ्केत’ का रूपमा हेर्नुपर्ने बताए ।
पश्चिमी शक्तिहरूले पुटिनमाथि युक्रेन द्वन्द्वका क्रममा खतरनाक आणविक आक्रमण गर्ने आरोप लगाएका छन् । पुटिनले मस्कोको आणविक हतियार तैनाथ गर्ने इच्छाबारे धेरै पटक स्पष्ट धम्की दिएका छन् ।
“यो पुटिनका तर्फबाट अत्यन्त गैरजिम्मेबार र अस्वीकार्य व्यवहारको निरन्तरता मात्र हो”, पछिल्लो धम्कीबारे स्टानोले भने । उक्त धम्की विश्वका धेरै नेताहरू न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएको बेला आएको थियो ।
“पुटिनको अडान अझ बढी ‘लापरवाहीपूर्ण’ थियो किनभने यो संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यको नेताबाट आएको थियो”, उनले भने ।