arrow

विपद्जन्य घटनाका पीडितलाई राहतस्वरुप ५० लाख दिने कांग्रेसको निर्णय [भिडियो]

कांग्रेस सांसदहरूले १५ दिनको तलब उपलब्ध गराउने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
mahat-prakasharan.jpg

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको केन्द्रीय सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । 

बैठकपछि बोल्दै नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रधान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको बताए । निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताए । उनले ५० लाखमा सहयोग गर्न कांग्रेस सांसदहरूले १५ दिनको तलब उपलब्ध गराउने पनि निर्णय भएको बताए ।

 उनले विपद्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै विपद्जन्य घटनाबाट बेपत्ता भएकाहरूको खोजी तीव्र गर्न र घाइतेको निःशुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि सरकारसँग आग्रह गरेको छ । पार्टीको भ्रातृ, शुभेच्छुक सङ्घटन सबैलाई नागरिक तहमा पुगेर उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ । दीर्घकालीन संरचना, सञ्चार संरचना, सडक, पुल, जलविद्युत आयोजनाहरूमा भएको क्षतिको यथार्थ मूल्याङ्कन गरी चाँडो भन्दा चाँडो सुचारु गर्न जोड दिएको छ । विषम परिस्थितिमा कालोबजारी हुनसक्ने, सवारी साधनमा हुनसक्ने वृद्धिलाई मध्यनजर राखेर गम्भीर रूपमा व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । 

उनले भने ‘२०८१ साल मङ्सिर १६ गते सम्पन्न हुने गरी स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । उक्त उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रधान गर्नका लागि पार्टी सभापति श्री शेरबहादुर देउवाज्यूलाई जिम्मेवारी प्रदान गर्ने । निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको छ । बागमती प्रदेशमा अत्यन्त ज्यादा प्रभाव पारेको छ । यस सम्बन्धमा पनि पार्टीले महत्त्वपूर्ण निर्णय गरेको छ । अविरल वर्षा, बाढी र पहिरोमा परेर केही दिन यता सय भन्दा बढीको मृत्यु भएको, सयौँ बेपत्ता र सयौँ घाइते भएको, घटनाले यतिबेला समस्त नेपालीलाई मर्माहत बनाएको छ । यो समग्र घटनाप्रति नेपाली कांग्रेस पार्टी गहिरो दुःख व्यक्त गर्दछ । दिवङ्गतहरूको आत्माको शान्तिको कामना र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । बेपत्ताहरूको खोजीमा हरसम्भव प्रयास तीव्र ढङ्गले गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै घाइतेको निःशुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि सरकारलाई अनुरोध गरेको छ । बाढी र पहिरोका कारण आपत्, विपद्मा परेका नागरिकहरू छन्, बाटोमा रोकिएका छन्, अझै बेपत्ताहरूको खोजी गर्नुपर्ने छ, खोजी राहत कार्यलाई तीव्रताका साथ अघि बढाउन पनि सरकारसँग आग्रह गरेको छ । पार्टीको भ्रातृ, शुभेच्छुक सङ्घटन सबैलाई नागरिक तहमा पुगेर उद्धार कार्यमा र राहत कार्यमा सक्रिय रूपमा लाग्न अपिल गरेको छ । आवतजावतमा रहेका समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छौँ । दीर्घकालीन संरचना, सञ्चार संरचना, सडक, पुल, जलविद्युत आयोजनाहरू जति पनि क्षति भएको छ त्यसको यथार्थ मूल्याङ्कन गरी चाँडो भन्दा चाँडो सुचारु गर्न क्रियाशील हुन जोड दिएका छौँ । यो विषम परिस्थितिमा कालोबजारी हुनसक्ने, सवारी साधनमा हुनसक्ने वृद्धिलाई मध्यनजर राखेर गम्भीर रूपमा व्यवस्थापन गर्ने । 
राष्ट्रिय विपत्तिमा समग्र पार्टीहरू, सरकार, नागरिक समाज सबै एक भएर उद्धार कार्यमा संलग्न हुनुपर्छ । राहत कार्यमा संलग्न हुनुपर्छ भनेर निर्णय गरेको छ । 
बैठकले नेपाली कांग्रेस पार्टीको तर्फबाट ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने, पीडितहरूको सहयोगका लागि । त्यस्तै हाम्रो संसदीय दलले पनि ५० लाखमा योगदान दिन १५ दिनको सांसदहरूको तलब योगदान गर्ने निर्णय गरेको छ । 
एक महिने सङ्गठन परिचालनको लागि जिल्ला जिल्लामा खटाएका थियौँ, यो एक महिने कार्यक्रम अहिले कोजाग्रत पूर्णिमासम्म स्थगन गरी सम्पूर्ण पार्टी पङ्क्ति यो विपद्को घडीमा उद्धार र राहत कार्यमा संलग्न हुन आग्रह गरिएको छ ।
पार्टीले सधैँ कोजाग्रत पूर्णिमामा गर्ने चियापान कार्यक्रम यस वर्ष नगर्ने निर्णय गरेको छ ।’

कांग्रेसले राष्ट्रिय विपत्तिमा समग्र पार्टीहरू, सरकार, नागरिक समाज सबै एक भएर उद्धार कार्यमा संलग्न हुन आह्वान गरेको छ । एक महिने सङ्गठन परिचालन कोजाग्रत पूर्णिमासम्म स्थगन गरिएको पनि प्रवक्ता महतले जानकारी दिए । उनले सङ्गठन परिचालन स्थगन गरी विपद् खोजी तथा उद्धार कार्यमा लाग्न पार्टीले निर्देशन दिएको बताए । कोजाग्रत पूर्णिमामा गर्ने चियापान कार्यक्रम यस वर्षका लागि नगर्ने निर्णय भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ