arrow

विपदमा ठगी

सरकार र यात्रुलाई झुक्कायो वायुसेवा संचालक संघले

टिकट बुकिङ सकिएपछि तीन दिनसम्म अधिकतम मूल्यमा नबेच्ने बतायो, परल मूल्यमा इन्धन दिन माग गर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
tia-new-81-6-11.jpg

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मूल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्काएको छ । आइतबार संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिदै आएको अधिकतम मूल्य (अपर लिमिट) को भाडादरमा टिकट नबेच्ने निर्णय गरेको थियो ।

अहिले सडक सञ्जाल अवरुद्ध रहेको समयमा दुई दिनदेखि तीन दिनसम्मको टिकट अग्रिम बुकिङ भइसकेको अवस्थामा संघले तीन दिन अधिकतम मूल्यमा टिकट नबेच्ने भन्दै झुक्काएको हो । अहिले उपलब्ध अनलाइन र विमान कम्पनीका वेभसाइटहरुमा पनि १६ गतेसम्मका टिकट उपलब्ध रहेको छैन ।

वायुसेवा कम्पनी यति एयरलाइन्सको वेभसाइटमा असोज १६ गते काठमाडौँदेखि भैरहवाको भाडादर ८ हजार ५५५ देखाएको छ । जबकि यसअघि सामान्य अवस्थामा यतिले यही रुटमा ५ हजार २ सयमा टिकट बेचिरहेको थियो । त्यस्तै ईसेवामार्फत हेर्दा १७ गतेका लागि ६ हजार २२२ टिकट दर देखाएको छ ।

संकटको अवस्थाका साथै चाडपर्वको अवसरमा वायुसेवा कम्पनीले भाडामा मनोमानी गर्ने गरेको पहिलो पटक भने होइन । हरेक वर्ष चाड पर्वमा हवाई भाडादर आकासिने गरेको पाइन्छ । तर सरकार र नियमन निकाय भने अहिलेसम्म एक्सनमा आएको पाइँदैन ।

संघले आइतबार भनेको थियो, ‘ संघमा आवद्ध सबै वायुसेवा कम्पनीहरुले यस विपद्को घडिलाई मध्यनजर गर्दै मिति २०८१ असोज १४ गते सोमबारदेखि मिति २०८१ असोज १६ गते बुधबारका दिनसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको अपर लिमिटको भाडादरमा टिकट नवेच्ने निर्णय गरियो ।’

अर्कोतर्फ पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पनि सचिवालय मार्फत मन्त्रीको पहलमा वायुसेवा कम्पनीले टिकटको मूल्य घटाएको प्रचार गरे । तर आम यात्रुले १६ गतेसम्म टिकट नै नपाएको अवस्थाको आँकलन सचिवालयले गर्न सकेन । मन्त्री पाण्डेलाई संघले झुक्यायो । 

मन्त्री पाण्डेको सचिवालयले आइतबार भनेको थियो, ‘संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको विशेष पहलमा वायु सेवा कम्पनीहरुले केही दिनका लागि अधिकतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेका छन् । मन्त्रालयको पहलमा नागरिक उड्डयन प्राधिकरणसँग आज बसेको बैठक पछि हवाई कम्पनीहरुको संस्था वायुसेव सञ्चालक संघ नेपालले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम् भाडादरमा केही दिनका टिकट नबेच्ने निर्णय गरेका हुन । देशमा हालै भएको बाढी पहिरोको विपतका कारण उत्पन्न समस्यालाई मध्यनजर गरी सोमबारदेखि बुधबारसम्मका लागि अधिकतम् दरमा टिकट नबेच्ने निर्णय गरेको जनाएको छ । विपदका बेला राजमार्गहरु बन्द भएको र यात्रुहरु अफ्टयारो परेका समयमा सरकारले तोकेको अधिकतम दरमा टिकट विक्री गर्दा सर्वधारणलाई समस्या भएको व्यापक गुनासो पछि मन्त्रालयले भाडा घटाउन पहल गरेको थियो ।  

संघले उल्टै सरकारसँग फ्युल परल मूल्यमा दिनुपर्ने भन्दै माग गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ