arrow

यी हुन् कांग्रेस संसदीय दलको बैठकका निर्णयहरु [भिडियो]

अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
congress-meet-06-15.jpg

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले बाढी, पहिरोमा परेका नागरिकको खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ । मंगलबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । उनले नेपाली कांग्रेस संसदीय दलको बैठकले गत अविरल वर्षाको कारण गएको बाढी, पहिरोमा परेर ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरेको बताए । 

उनले बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजी गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको बताए । उनले अहिले पनि मानिसहरू उद्धारको प्रतीक्षा गरिरहेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग माग गरेको बताए । उनले प्राकृतिक प्रकोपको कारणबाट बिपी राजमार्ग,सडक,पुलहरू भत्किएको भन्दै खोजी, उद्धार र राहतपछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुकता देखाउन माग गरेको बताए । उनले दशैँ—तिहार जस्ता चाडपर्वहरू नजिक आएकाले आम नागरिकलाई यात्रा सहजताको लागि तत्काल सडक मार्ग खुलाउन आग्रह गरिएको बताए । 

उनले बाढी पहिरोले क्षति भएका विभिन्न भौतिक संरचनाहरू खानेपानी,विद्यालय,विद्युत् लगायत संरचना तत्काल निर्माण गरी सेवा सुचारु गर्न पनि माग गरिएको बताए । उनले विपद्मा कालोबजारी,मूल्यवृद्धि हुने सम्भावना रहेको भन्दै अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरे। उनले हवाई र सवारी साधनको भाडदारलाई सरकारले नियन्त्रण गरी साबिककै भाडदारलाई कायम गरी यात्रा गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरिएको बताए ।

उनले भने,‘नेपाली कांग्रेस संसदीय दलको बैठकले सात निर्णय गरेको छ । गत असोज १२ र १३ गते अविरल वर्षाको कारण गएको बाढी पहिरोले धेरै धनजनको क्षति भएको छ । बाढी पहिरोमा ज्यान गुमाउनेहरू प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छौं । बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजी गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेका छौं । अहिले पनि कतिपय मानिसहरू उद्धारको प्रतीक्षामा छन् । सडक बाटोमा फसेका मानिसहरू तत्काल नेपाल सरकारले उद्धार गरोस् । प्राकृतिक प्रकोपको कारणबाट साना ठूला धेरै सडकहरू अवरुद्ध भएका छन् । बिपी राजमार्ग,सडक पुलहरू भत्किएको छ । पूर्वको लाइफलाइन बन्द भएको छ । खोजी उद्धार र राहत पछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुपता देखाउनुपर्छ । सरकारले सडक सुचारु गर्न तीव्रता दिओस् । दशैं तिहार जस्ता चाडपर्वहरू छन् । बाटो खुलाउन अग्रसर हुन आग्रह छ । विभिन्न भौतिक संरचनाहरू खानेपानी,विद्यालय,विद्युत् लगायत भत्किएका छन् । ती संरचना तत्काल निर्माण गरेर सेवा सुचारु गर्न माग गरेका छौँ । विपद्मा बजारमा कालोबजारी,मूल्यवृद्धि हुने सम्भावना रहन्छन् । सरकारले अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्ने र यातायातको भाडादरहरुलाई नियन्त्रण गर्ने र साबिककै भाडदारलाई कायम राखेर सडक र हवाई यातायात सेवा दिन सरकारले वातावरण बनाउन माग गरेका छौं । विपद् व्यवस्थापनको लागि नेपाली कांग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूबाट १५ दिनको पारिश्रमिक नेपाल सरकारलाई विपत व्यवस्थापनको लागि प्रदान गर्ने भन्ने निर्णय संसदीय दले पास गरेको छ । इजरायल र लेभलान युद्धमा नेपालीहरूको जोखिमको अवस्थाका रहेको बुझिएको छ । नेपालीहरूको सुरक्षा र नेपाल आउनेहरूलाई सुरक्षित रूपमा नेपाल ल्याउन सरकारसँग माग गरेका छौं । नदी कटान र बाली नष्टको क्षतिपूर्तिको लागि सरकारसँग माग गर्ने निर्णय गरेका छौं ।’

उनले विपद् व्यवस्थापनको लागि नेपाली कांग्रेसका (प्रतिनिधि सभा र राष्ट्रिय सभाका) सांसदहरूबाट १५ दिनको पारिश्रमिक नेपाल सरकारलाई विपद् व्यवस्थापनको लागि प्रदान गर्ने निर्णय संसदीय दलले पास गरेको बताए । उनले इजरायल र लेबनान युद्धमा नेपालीहरूको जोखिमको अवस्थाका रहेको भन्दै नेपालीहरूको सुरक्षा र नेपाल आउनेहरूलाई सुरक्षित रूपमा ल्याउन सरकारसँग माग गरेको बताए । उनले बाढी पहिरो,डुबान तथा नदी कटानको कारण खेती बालीमा भएको नोक्सानीमा सरकारले किसानलाई राहतको व्यवस्था गर्न माग गरेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ