arrow

देशभरमा ३४ वटा राजमार्गहरूका ८०५ स्थानमा पहिरो 

दशैं अगाडि बीपी राजमार्ग खुल्दैन - मन्त्रालय [भिडियो]

पुनः स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
bp-highway-06-18-01.jpg

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बीपी राजमार्ग दशैंअघि नखुल्ने बताएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बीपी राजमार्ग दशैं अगाडी सञ्चालनमा नआउने जानकारी दिएका हुन् । 

उनले मन्त्रालयको टोलीले स्थलगत अवलोकन समेत गरेर आएको भन्दै दशैं अगाडी बीपी राजमार्ग खुल्ने सम्भावना नरहेको उल्लेख गरे। यद्यपि खुलाउने प्रयास भने जारी राखिने उनको भनाई छ । खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धार मात्र गरिने र अन्य सवारी साधनलाई चलाउन सकिने गरी खुलाउन नसकिने उनले स्पष्ट पारे । 

उनले भने – ‘बीपी राजमार्गको अवस्था देख्दा खेरी दशैं अगाडी त्यो खुल्ने सम्भावना छैन । हामी त्यो निष्कर्षमा पुग्यौँ । काम निरन्तर गर्छौ किनभने त्यहाँ गाडीहरू रहेका छन् । गाडीका स्टाफहरू गाडी कुरेर बस्नुभएको छ भनेपछि सकेसम्म हामी प्रयास गर्दै दशैं अगाडी अड्किएका गाडीहरू ल्याउने प्रयास गर्छौ । त्यो उद्धार मात्रै हुन्छ । सार्वजनिक गाडी छोड्ने गरी नै गर्न सकिने अवस्था हामी देख्दैनौँ । धेरै ठाउँमा बिग्रिएको छ ।’

बीपी राजमार्गको चौकीडाँडाँ–कालढुंगा खण्ड १८ कि.मि. सडक अवरुद्धको अवस्थामा रहेको छ । मन्त्रालयका अनुसार बीपी राजमार्गको सुनकोशी, खैरेनीटार, खुर्कोट, फोक्सिङटार पुल क्षति भएको छ ।

असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गहरूका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी दिइएको छ । त्यसमध्ये ७७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिसकिएको सचिव शर्माले जानकारी दिए । हाल ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको उनले बताए । हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे २ देखि ३ अर्ब लाग्ने देखिएको उनले जानकारी दिए । त्यस्तै क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनः स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनको भनाई छ ।

सचिव शर्माले अरनिको राजमार्गको लार्चा–कोदारी खण्ड ५ कि.मि., बीपी राजमार्गको चौकीडाँडाँ–कालढुंगा खण्ड १८ कि.मि., मध्य पहाडी राजमार्गको दोलालघाट–राकथुम खण्ड ८० कि.मि., कान्ति राजपथ घपेली–बगुवा सडक खण्ड १३ कि.मी. र मेची राजमार्गको रमिते–फिदिम खण्ड ८ कि.मी. हालसम्म अवरुद्धको अवस्थामा रहेको जानकारी दिए । 

त्यसैगरी क्षति भएको पुलहरूमा अरनिको राजमार्गको लिपिङ, अरनिको राजमार्गको लार्चा बेलिब्रिज, बीपी राजमार्गको सुनकोशी, खैरेनीटार, बीपी राजमार्गको सुनकोशी, खुर्कोट, बिपी राजमार्गको सुनकोशी फोक्सिङटार, मेची राजमार्गको हँवा खोला पुल, कान्ति लोकपथको बागमती पुल, माईपोखरी–सन्दकपुर इलामको रातेखोला पुल र कान्ति राजपथको बागमती पुल रहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ