arrow

प्रहरी दिवसमा बाढी प्रभावितको नि:शुल्क स्वास्थ्य परीक्षण, मण्डनदेउपुरमा ६२४ जनाको उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
police-free-health-camp.jpg

काठमाडौँ । नेपाल प्रहरी अस्पतालले नेपाल प्रहरीको ६९ औँ स्थापना दिवसको अवसर पारेर बाढीबाट प्रभावितको लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

अस्पतालले स्थापना दिवसको अवसर पारेर काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा २ को बालुवापाटी माध्यामिक  विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

मण्डनदेउपुर नगरपालिका बाढी पहिरोको कहरबाट अत्यधिक प्रभावित क्षेत्रमा पर्दछ । स्थानीय व्यक्तिहरुको स्वास्थ्य आवश्यकतालाई मध्यनजर गरी बृहत् स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

बृहत् नि:शुल्क स्वास्थ्य शिविरमा ६२४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक डा. दामोदर पौडेलको कमाण्डमा ५० जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।

विशेषज्ञ चिकित्सकसहित शिविरमा रेडियोलोजी,डेण्टल,जनरल सर्जरी,बाल रोग, मेडिसिन,हाडजोर्नी, नाक कान घाँटी, स्त्री तथा प्रसुती, छाला, मानसिक, आँखाको विशेषज्ञ सेवा प्रदान गर्नुका साथै प्याथोलोजी,ड्रेसिङ,फिजियोथेरापी तथा नि:शुल्क औषधि वितरण तथा सामान्य सर्जरीसमेत गरिएको थियो । 

उक्त शिविरबाट २६८ जना पुरुष तथा ३५६ जना महिलाहरुले सेवा लिएका थिए ।  उक्त स्वास्थ्य शिविरमा मण्डन देउपुर नगरपालिका आसपासका इलाका समेतबाट विरामीहरु स्वास्थ्य परीक्षणको लागि आएका थिए । 

पछिल्लो समय नेपाल प्रहरी अस्पताल सर्वसाधारणको लागि पनि खुला गरिएको र समुदाय स्तरमा लगिने यस्ता कार्यक्रमले नेपाल प्रहरीलाई समुदायमाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ