arrow

रवि लामिछाने पक्राउ 

सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
ravi-arrest-81-7-2-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान गर्ने गरी पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई संगठित अपराधमा पनि अनुसन्धान गर्नका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो । उक्त अनुमतिअनुसार नै कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरी पठाइिदन पत्र पठाएको थियो । 

उनी पार्टी कार्यालय वनस्थलीमा रहेका बेलामा काठमाडौँको प्रहरी टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले रविलाई पक्राउ गरी कास्की पठाइदिन गरेको पत्राचारअनुसार उनलाई पक्राउ गरेर कास्की लगिँदैछ । उनलाई स्थलमार्ग हुँदै पोखरा लगिएको हो ।

लामिछानेलाई पक्राउ गरेपछि रास्वपाका कार्यकर्ताले अवरोध गरेका थिए भने ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । रास्वपाका कार्यकर्ताले सरकारको विरोध गरेका छन्। 

लामिछानेलाई प्रहरीले पक्राउ गरेर लगेपछि रास्वपाका कार्यकर्ताले सडक अवरुद्धसमेत गरेका छन् । 

पक्राउ पर्नुअघि पत्रकार सम्मेलन गर्दै रवि लामिछानेले सबै चिजको सामना गर्ने बताएका थिए । उनले आफूले कुनै पनि किसिमको अपराध नगरेकोसमेत बताएका थिए । 

उनलाई पक्राउ गर्न शुक्रबार नै जिल्ला प्रहरी कार्यालय कास्कीले अनुमति लिएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो । 

लामिछानेलाई पक्राउ पुर्जी जारी गर्न आग्रहका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया र डीएसपी बसन्तकुमार शर्माको टोली अदालत पुगेको थियो । 

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेले गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको सांसद सूर्य थापा संयोजक रहेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।

उक्त प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा पूर्व डीआईजी छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

जोशी गत असोज ६ गते नै पक्राउ परेर अहिले थुनामा छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा जोशीलाई काठमाडौंको शंखमूलबाट पक्राउ गरी कास्की लगिएको थियो ।

जोशीलाई थप अनुसन्धान गर्न भन्दै शुक्रबार मात्रै २० दिनको समय थप भएको छ । 

यता पक्राउ पर्नुअगाडि रवि लामिछानेले सरकार मरेको र आफूहरुलाई जुठो लागेको भनी सामाजिक सञ्जालमा लेखेका थिए । 

उनले सरकार मरेसँगै आफूहरुलाई जुठो लागेकोसमेत बताएका हुन् । 

यसो लेखेका थिए रविले–
सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !!
तपाईंको  हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? 
तपाई  विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? 
तपाई  प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले  ठगीको आरोप खेपी दिनुपर्ने । 
तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो  एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने?
तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने? 
यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै  भ्रष्टाचारी जोगाउन  तपाईले  त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो।  तपाईहरुका  दलका  नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ। 
ठिक छ,म तपाईहरुको  दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु ।
नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको  कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्‍याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्,  छिट्टै गर्नेछन्।
अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर  मलाई  न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ