arrow

न्यूजिल्याण्डविरुद्ध भारतले इज्जत जोगायो, हार जोगाएन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
rachin-rabindra-nz-india-24.jpg

काठमाडौँ । न्यूजिल्याण्डविरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारत पराजित भएको छ । भारत ८ विकेटले पराजित भएको हो । 

घरेलु बैंगलुरुमा भएको खेलमा १०७ रनको झिनो लक्ष्य न्यूजिल्याण्डले पाँचौँ दिन २५ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो । ३५ रन जोड्दा दोस्रो विकेट गुमाइसकेको न्यूजिल्याण्डका लागि रचिन रविन्द्र र विल यङ्गको जोडीले जिताएको हो । रचिनले अविजित ३९ तथा विलले अविजित ४८ रन बनाए । दुवै विकेट जसप्रित बुमराहले लिए । 

यसअघि पहिलो इनिङ्समा भारत ४६ रनमा अलआउट हुँदै एसियाभरका मैदानमै सबैभन्दा कम योगफल बनाउने खराब कीर्तिमान रचेको थियो । 

माट हन्रीले ५ तथा विलियम ओ राउर्केले ४ विकेट लिए । जवाफमा न्यूजिल्याण्डले रचिनको १३४, डेभोन कन्वेको ९१ तथा टिम साउथीको ६५ रनको मद्धतले ४०२ रन बनायो । कुलदीप यादवले ३ विकेट लिए । 

पहिलो इनिङ्समा ३५६ रनले पछि परेको भारतले दोस्रो इनिङ्समा भने आक्रामक खेल्दै ४.६४ को रन रेटमा ४६२ रन बनायो ।

सर्फराज खानले १५० रन बनाउँदा ऋषभ पन्त नर्भस नाइन्टिजको सिकार हुने क्रममा १०५ बलमा ९९ रन बनाएर आउट भए । त्यस्तै विराट कोहलीले ७० तथा रोहित शर्माले ५२ रन जोडे । माट हन्री र राउर्केले ३–३ विकेट लिए ।

यो खेलमा भारतले दोस्रो इनिङ्समा उत्कृष्ट कमब्याक गरे पनि हार भने टार्न सकेन । 

भारत ३६ वर्षपछि टेष्टमा न्यूजिल्याण्डसँग घरेलु मैदानमा पराजित भएको हो । सन् १९८८ मा हारेपछि भारत न्यूजिल्याण्डसँग अपराजित थियो । 

यो हारसँगै तीन खेलको श्रृंखलामा भारत १–० ले पछि परेको छ । दोस्रो खेल आगामी बिहीबारदेखि पुणेमा शुरु हुनेछ । 

यो हारले भारतको आईसीसी टेष्ट च्याम्पियनशिपको फाइनल प्रवेशलाई केही असर गरेको छ । भारतले ११ खेलमा ७४.२४ अंक जोडेकामा १२ औँ खेलको हारले ६८.५० अंकमा झरेको छ । अहिलेसम्म भारत शीर्ष स्थानमै छ । 

अष्ट्रेलिया १२ खेलबाटै ६२.५ अंकसहित दोस्रो स्थानमा छ भने श्रीलंका ९ खेलबाट ५५.५६ अंकसहित तेस्रो स्थानमा छ । 

न्यूजिल्याण्ड जितपछि ९ खेलबाट ४४.४४ अंकसहित चौथो स्थानमा पुगेको छ ।
 



नयाँ