arrow

सहकारी ठगी प्रकरण दबाउ अभियान

पोखरामा सहकारी पीडितहरुको आवाजले थिचिएपछि रास्वपा फर्कियो, आजदेखि काठमाडौँ केन्द्रित आन्दोलन

कानूनका अगाडि दबाबको राजनीति टिकेन, स्थानीयलाई दिएको झूटो आश्वासन बिकेन 

logo
सोम,
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
ravi-lamichhane-arrest-81-7-4.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी प्रकरण, सम्पत्ति शुद्धीकरण, संगठित अपराध लगायतमा मुछिएका आफ्ना सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई बचाउन पोखरामा केन्द्रित गरेको आन्दोलन असफल भएको छ । 

आन्दोलनमा अपेक्षा गरे बमोजित देशभरबाट कार्यकर्ताहरु नआएको र पोखराका स्थानीयले समेत साथ नदिएपछि रास्वपाले पोखरा केन्द्रित दबाबमूलक आन्दोलनलाई बिट मारेर आजदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ । 

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानूनी ढंगले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम अपचलन गरेको आरोप लामिछानेमाथि लागेपछि गत कार्तिक २ गते लामिछाने काठमाडौँबाट पक्राउ परेपछि ३ गते बिहान पोखरा लगिएको थियो । 

उनी पक्राउ परेपछि सडक मार्ग हुँदै पोखरा लगिएकामा राति रातिसमेत विभिन्न राजमार्गका विभिन्न ठाउँमा भेला भएका रास्वपाका नेता कार्यकर्ताले नाराजुलुस गरेका थिए । 

रविले नै भन्दै आएको प्रतिशोधको राजनीति स्वरुप आफूलाई पक्रिएको भन्दै नेता कार्यकर्ता उक्साएपछि सबैलाई यसै लाग्यो कि सत्ताधारी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिशोधमा रवि पक्राउ परेका हुन् । 

तर सहकारी गठी प्रकरणमा सयौँ जना पक्राउ परेको अवस्थामा संसदीय छानबिन समितिलेसमेत गहन अनुसन्धान गरेको प्रतिवेदनबाट रवि दोषी देखिएपछि त्यसलाईसमेत आधार बनाएर यसअघि नै परेको उजुरीलाई प्रक्रियागत रुपले अगाडि बढाउने क्रममा कास्की जिल्ला प्रहरी कार्यालयले कास्की जिल्ला अदालतमा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति लिएर कारबाही प्रक्रिया अगाडि बढिरहेको छ । 

कुनै दलको सभापति हुँदैमा छानबिन हुनै नहुने र लाखौँ नेपालीको भविष्य गाँसिएको सहकारीमा ठगी ब्याप्त भएपछि सयौँ पक्राउ पर्दा केही नहुने अनि रवि पक्राउ पर्दा आकाशै खस्छ जसरी नै रास्वपाले प्रचारप्रसार गर्नु र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रलेसमेत ठूलै साँठगाँठले आफूहरु पनि सक्किन्छौँ भनेजसरी साथ दिनुले भने यो सरकारलाई दोषी कुनै पनि रास्वपा वा माओवादीका नेतालाई कारबाही गर्न हुन्न भन्ने भाष्य सिर्जना खोजिएको छ । 

यसले त दोषी नेपालमा कोही छन् भने ती कांग्रेस र एमालेका मात्रै छन् भनेर रास्वपा र माओवादीले जसरी भाषण गर्दै हिँडेका छन् त्यसलाई अदालतले प्रहरीको सही अनुसन्धान र अदालतको सही न्यायले चिर्न सक्नुपर्छ । 

यदि रवि दोषी छैनन् भने उनलाई सफाइ दिनुपर्छ । यदि दोषी छन् भने उनलाई जेल कोच्नुपर्छ । रविको पृष्ठभूमि यसै पनि गतिलो छैन । दोहोरो नागरिकताका कारण उनले सांसद पद नै गुमाएका थिए । उनको दोहोरो पासपोर्टको मुद्दा त अगाडि बढेकै छैन । 

पोखराबाट किन पछि हट्यो रास्वपा
रविले पक्राउ पर्दा नै आफ्नो पार्टीका नेता कार्यकर्तालाई भनेका थिए – केपी शर्मा ओली नेतृत्वको सरकार नढलेसम्म सडक आन्दोलन नछाड्नु । यस्तो लाग्थ्यो कि देशहितका लागि राजनीति गर्दागर्दै रविलाई कुनै तानाशाहले पक्राउ गरेको हो । 

उनी युद्ध जितेर फर्किन्छु भनेजसरी नै सरकारलाई चुनौती दिइरहेका थिए । अनि उनका कार्यकर्ता पनि चिच्याइरहेका थिए – ‘यो सरकार भ्रष्ट हो, केपी ओली तानाशाह हो, भ्रष्ट सरकार राजीनामा दे ।’

अनि रविले सम्पूर्ण रास्वपाका नेता कार्यकर्तालाई पोखरा आउन आह्वान गरे । सो बमोजिम झण्डै हजारको आसपासमा पोखरा पनि पुगेकै हुन् । रविलाई कार्तिक ३ गते पोखरा लगिएदेखि नै बाहिर आन्दोलन चर्किन थाल्यो । कार्तिक ४ गते उनलाई अदालतमा लैजाँदा अप्रिय घटना हुने देखेर स्थानीय प्रशासनले निषेधाज्ञा नै लगाउनु पर्यो । 

तर रास्वपाको आन्दोलन त्यसपछिका दिनमा विस्तारै कम हुँदै गयो । रास्वपाका उपसभापतिहरुदेखि लिएर केन्द्रीय सदस्यहरुसम्म पोखराका स्थानीयका घरघरमा गएर आन्दोलनमा सहभागी हुन आग्रह गरे । उनीहरुले कांग्रेस र एमालेको भर नपर्न भनेर सहकारी पीडितहरुलाई भड्काए पनि । 

उनीहरुको आग्रह सुनिएन । केहीमात्र धम्कीको डरले आए । बाँकी आएनन् । अन्य जिल्लाहरुबाट आएका कार्यकर्ताहरु विस्तारै फर्के । अब कार्यकर्ताभन्दा बढी नेता नै सडकमा देखिन थालेपछि पर्यटकीय राजधानीलाई धेरै मैलो बनाउन सकेनन् र तुहियो पोखरा आन्दोलन । 

त्यसो त पोखरामा रास्वपाको भन्दा त पीडितकै आन्दोलन सशक्त थियो । पीडितहरु रवि पक्राउ परेपछि अब आफूहरुको दुःखजिलो गरेर बचाएर सहकारीमा भविष्य कोर्न जम्मा गरेको पैसा उठ्ने आशा पालिरहेका छन् । 

स्वभावैले उनीहरुले आन्दोलन गरे । उनीहरु आफ्नो मेहनतको फल फिर्ता नपाउन्जेल आन्दोलन गर्नेछन् त्यसमा दुई मत नै छैन । तर पीडितहरुको आवाज दबाउने गरी भएको आन्दोलन पीडितलाई सहनयोग्य हुने प्रश्नै भएन । 

र पनि संयमित भएर सहकारी पीडितहरु आन्दोलनमा उत्रिरहेका छन् । उनीहरुलाई थाहा छ सरकारी सम्पत्ति तोडफोड गरेर र सुरक्षाकर्मीमाथि प्रतिकारमा उत्रेर उनीहरुको पैसा उठ्दैन । 

यद्यपि उनीहरुको गुनासो पनि छ कि सरकारले आफ्ना माग सम्बोधन गरिरहेको छैन । 

अदालत आफ्नो प्रक्रिया अनुसार अगाडि बढिरहँदा रविलाई तत्काल छाड्ने अवस्था नदेखेपछि रास्वपाका नेताहरु रविलाई तिहारमा हिरासतमै छाडेर काठमाडौँ फर्केका हुन् । 

काठमाडौँको माइतीघरमा आन्दोलन चर्काउने भन्दै उनीहरु काठमाडौँ फर्के । शुक्रबार दिउँसो १ बजे माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन रास्वपाले आह्वानसमेत गरेको छ । 

कहाँ चुक्यो रास्वपा ? 
विधिको शासनको पालना गर्ने भनेर कसम खाएको पार्टीले छानबिनमा आफ्ना नेता पक्राउ परेपछि त्यसको विरोध गरेर रास्वपा चुकिसकेको छ । 

रास्वपाकै सांसदसमेत सहभागी रहेको सहकारी ठगी संसदीय छानबिन समितिले रविलाई दोषी देखाएकै थियो । तर यो बारेमा छानबिन समितिका सदस्य शिखिर खनाललाई राम्रैसँग थाहा भए पनि प्रतिवेदन सार्वजनिक भएपछि रविले ‘क्लिन चिट पाएको’ भनेर भ्रम फैलायो । 

यो क्लिन चिटको फण्डा सफल नभएपछि रास्वपा प्रतिशोधका कारण आफ्ना सभापति पक्राउ पर्न सक्ने जनायो । 

जबकि गोर्खा मिडियामा रहँदा करोडौँ रुपैयाँ सहकारीबाट ल्याइएको थियो । त्यो प्रमाणसहित संसदीय समितिको प्रतिवेदनमा राखिएको छ । 

सहकारीको पैसा यसरी दुरुपयोग गर्नै पाइँदैन । निजी कम्पनीमा प्रयोग गर्नै पाइँदैन । अनि त्यही समस्याका कारण रविको गोर्खा मिडियाका अरुलाई कारबाही हुन हुने अनि रविलाई पक्राउ गर्न पनि नहुने ? 

रवि स्वयं गृहमन्त्री भएका बेलामा उनले गरेका हर्कतको रास्वपाले एकढिक्का जवाफ दिन्थ्यो । कहिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई पक्राउ गर्दा कानूनले जोकसैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न पाउँछ भन्यो । अहिले आफ्नै सभापति पक्राउ पर्दा प्रतिशोध भन्यो । 

के कांग्रेस–एमाले पनि पक्राउ पर्नासाथ आन्दोलित भएका थिए ? 
भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँड पक्राउ परे । एमालेबाट सचिव टोपबहादुर रायमाझी पक्राउ परे । 

प्रभावशाली नेताहरु पक्राउ गर्दा कांग्रेस वा एमालेले सडक आन्दोलन गरेनन् । बस् निश्पक्ष छानबिनको माग गरे । 

अहिले एमाले र कांग्रेसका नेताहरुलेसमेत यदि सहकारी ठगीमा कांग्रेस एमालेका कोही सहभागी भएको भए पक्राउ गरी अनुसन्धान गर्न आग्रह गरिसकेका छन् । 

राप्रपाले पनि आफ्नी सांसद सहकारी ठगीमा मुछिएर फरार भएपछि पक्राउ गरी सत्यतथ्य छानबिन गर्न माग गरेकै थियो । 

तर रास्वपामात्र त्यस्तो पार्टी हो जसका सभापति ठगीमा मुछिए भने पक्राउ गरिनु हुन्न । पक्राउ गरियो भने त्यो प्रतिशोध मात्र हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ