- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुनसरी । चिनियाँ नागरिकसँग बालिकालाई विवाह गराउने ८ जनालाई प्रहरीले सुनसरीबाट नियन्त्रणमा लिएको छ। धनकुटाको छथर जोरपाटी २ की १६ वर्षीया बालिकालाई चीनको हुबेल निवासी ३३ वर्षका लि टेङसँग विवाह गराउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने ८ मध्ये ३ जना चिनियाँ नागरिक हुन्। उनीहरु सबै मिलेर चतरास्थित औलिया बाबाको मन्दिरमा विवाहको कार्यक्रम राखेका थिए । प्रहरीले बेहुला लि, बालिकाका बाबु, उदयपुर बेलकाका दीपक दर्जी, बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजारका शितल गुरुङ, काभ्रेपलान्चोक रोशीकी रोशनीमाया तामाङ तथा चिनियाँ नागरिकहरु डोङ शिहाओ र वु हेजीलाई नियन्त्रणमा लिएको हो।
सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बालबिवाह गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जानकारी दिए । उनले छिमेकी किशोरीको विवाह पनि चिनियाँ नागरिकसँग भएको र उनको पारिवारिक जीवन राम्रो रहेको पाइएपछि छोरीको विवाह गर्न आफू राजी भएको बालिकाका बुबाले बताएको जानकारी दिए ।
तर यसरी चिनजान नै नभएको विदेशीलाई आफ्नी उमेर नपुगेकी छोरीलाई विवाह गरिदिनुका पछाडि धेरै रहस्य लुकेका हुन सक्ने भन्दै यतातर्फ पनि अनुसन्धान गरिने एसपी तिम्सिनाले बताए ।
उनका अनुसार यस्तो घटना यो पूर्वमा दोस्रो हो । यसअघि सोही गाउँमै एक किशोरीको बिहे भएको र उनको सन्तानसमेत रहेको पाइएको उनले बताए । यहाँ बालिकाका बुबा कुनै प्रलोभनमासमेत परेको हुनसक्ने आशंका गरिएको छ ।
यसअघि चिनियाँहरुले नेपालमा नक्कली बिहे गरेर नेपाली चेलीलाई चीन लैजाने अनि त्यहाँबाट मानव तस्करी गरेर अन्य देशमा बेच्ने गरेका समाचार पनि आइरहेकोतर्फ सचेत रहेको भन्दै एसपी तिम्सिनाले यो पाटो तत्काल नखुले पनि यसमासमेत अनुसन्धान गरिने बताए ।
हाललाई भने बालविवाह सम्बन्धी मुलुकी अपराध संहिता २०७४ को बालविवाह सम्बन्धी कसूरमा मुद्दा अगाडि बढ्ने छ । परिच्छेद ११ को दफा १७३ अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन ।
यसरी भएको विवाह स्वतः बदर हुन्छ भने उक्त कसूर गर्ने व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
मानव तस्करीमा भने छुट्टै कानून आकर्षित हुन्छ ।