- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले भ्रष्टाचारी र सहकारीको बचत अपचलन गर्ने कुनै पनि व्यक्ति एमाले हुन नसक्ने र त्यस्ता व्यक्ति जो सुकै भए पनि संरक्षण नगर्ने बताएका छन् ।
नेकपा एमाले वडा कमिटी पोखरा-५ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता अधिकारीले सहकारी घोटलाको प्रकरणमा सरकारले अनुसन्धान र कार्वाही प्रक्रिया अघि बढाएकाले यसबाट कसैले पनि उन्मुक्ति पाउन नहुने स्पष्ट पारे ।
सहकारी घोटला गर्ने सबै व्यक्तिलाई कानूनी दायरामा ल्याएर पीडितका बचत फिर्ता र न्याय दिनुपर्ने उनले स्पष्ट पारे ।
अर्को प्रसंगमा नेता अधिकारीले एमाले राष्ट्रिय शक्तिको रुपमा विकास भएपछि समाजवादको आधार तयार हुने बताए ।
जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्नुपर्ने उल्लेख गर्दै अधिकारीले त्यसका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्नेमा जोड दिए ।
नेपालको हरेक निर्णायक क्रान्ति र निर्णायक समयमा एमाले र कांग्रेसको सहकार्य हुने गरेको भन्दै उनले पछिल्लो पटक २०६२/६३ को मौलिक क्रान्ति र संविधान निर्माणका क्रममा एमाले र कांग्रेसले सहकार्य गरेको बताए ।
उनले भने, “कांग्रेस र एमाले आपसमा प्रतिस्पर्धी पार्टी पनि हो, तर सुखी नेपाली, समृद्ध नेपालको आकांक्षा पूरा गर्न पनि एमाले र कांग्रेसको सहकार्य आवश्यक भएपछि सत्तामा सहकार्य गरिएको हो ।”
विगतमा कम्युनिष्ट पार्टीको सरकार गिराउन कम्युनिष्ट पार्टीलाई नै प्रयोग गरिएको भन्दै आफूलाई कम्युनिष्ट भन्नेहरु नै दुई तिहाइको सरकार गिराउन लागि परेको नेता अधिकारीको भनाइ थियो ।
एमालेका कार्यकर्ताले विचारमा स्पष्टता, सङ्गठन निर्माण, प्रचारमा प्रभावकारिता, विकासको अभियन्ता, निर्वाचन परिचालक, जनताको परिचालन, स्वयंसेवी भावना, समन्वयकारी भूमिका आदि गुण हुनुपर्नेमा जोड दिए ।
साथै नेता अधिकारीले प्रकृति र संस्कृति पर्यटन विकासको मुख्य आधार भएको भन्दै यस्ता आधारको उपयोग गर्दै समृद्धिसँग जोड्नुपर्नेमा जोड दिए ।
अधिकारले प्राकृतिक सम्पदा र मौलिक संस्कृतिको संरक्षण तथा प्रचारप्रसारमा जोड दिंदै पर्यटकको आकर्षण बढाउनु पर्ने आवश्यकता औँल्याए ।
एमालेका केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कृष्ण थापाले पार्टीलाई मुलुककै ठूलो र बलियो बनाउन तल्ला तहदेखिबाटै अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए ।
राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज एवं पार्टीका केन्द्रीय सदस्य राजीव पहारीले एमालेमा युवाको आकर्षण बढदै गएको भन्दै वर्तमान सरकारले राम्रो काम गरेको बताए ।
एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले आगामी निर्वाचनमा गण्डकीलाई एमालेको किल्ला बनाउने उद्घोष गरे ।
कास्की जिल्ला कमिटी अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले कास्कीमा एमालेलाई कसैले हल्लाउन नसक्ने जिकिर गरे ।
महानगर कमिटीका अध्यक्ष जीवन आचार्यले पार्टीका सबै भातृ तथा शुभेच्छुक संघसंगठनलाई मजबुत बनाएर अघि बढाइने बताए ।
नेपाली कांग्रेस वडा कार्यसमिति पोखरा-५ का सभापति प्रकाश कोइरालाले राजनीति जनताको सेवाका लागि हुनुपर्नेमा जोड दिए ।
एमाले वडा कमिटी पोखरा-५ का कार्यवाहक अध्यक्ष हेमराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव पानप्रसाद तिमल्सिनाले स्वागत र सञ्चालन सचिव लक्ष्मण बरालले गरेका थिए ।