- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति सर्लाही क्षेत्र नम्बर २ ले छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरी क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ ले शुभकामना आदान–प्रदानसँगै पार्टीका पुराना एवं वरिष्ठ नेताहरुलाई सम्मान तथा कदर पत्रसमेत प्रदान गरेको छ ।
प्रजातन्त्र सेनानी तथा नेपाल किसान संगठनका पूर्व केन्द्रीय अध्यक्ष वासुदेवशरण कोइरालाले बीपी कोइराला एवं नेपाली कांग्रेस सर्लाहीका धरोहर नेता स्व. रामहरि जोशीको तस्बिरमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति तथा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कांग्रेस सर्लाहीका पूर्व सभापति लक्ष्मण राय, कौडेना गाउँपालिका प्रमुख रुपेश कुमार, विष्णु गाउँपालिकाका प्रमुख जवाहर राय, कबिलासी नगरपालिका उपप्रमुख पुनम कर्ण, विभिन्न भ्रातृ संगठनका प्रतिनिधिहरु लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका अधिकांश वक्ताहरुले पार्टीप्रति इमानदार रहेर गुटबन्दीको राजनीति नगर्न सुझाव दिएका थिए । पार्टीभित्र भ्रष्टाचारीहरु हावी भएकोले त्यस्ता भ्रष्टाचारीहरुलाई निरुत्साहित गरेर अगाडि बढ्न उनीहरूले बताएका थिए।
कार्यक्रममा नेपाली कांग्रेसको प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गरेर आफ्नो सारा जीवन पार्टीप्रति समर्पित गरेका १० जना नेताहरुलाई सम्मान गरिएको थियो ।
प्रजातन्त्र सेनानी कोइराला, लक्षमण राय, घनश्याम ढुंगेल, भिखारी मंसुर, सुशील शर्मा, सत्यदेव सिंह दनुवार, महेन्द्र साह, ब्रम्हनारायण चौधरी ,अशोक खनाल र रामचन्द्र चौधरीलाई पार्टीको चुनाव चिन्ह अंकित नेपाली टोपीका साथ दोसल्ला ओढाएर कदरपत्र प्रदान गरी सम्मानित गरिएको थियो ।
उनीहरु बीपी कोइरालाको साथमा रहेर प्रजातान्त्र प्राप्तिको लागि जनआन्दोलनमा लागेका नेताहरु हुन् ।
सोही अवसरमा विभिन्न राजनीतिक पार्टी परित्याग गरी देवेन्द्र यादवको अगुवाइमा ५० जना नेताहरु कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेसी सबै जनालाई प्रमुख अतिथि कोइराला र क्षेत्रिय सभापति रायले टीका तथा माला लगाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा जिल्ला कार्यसमिति सर्लाहीका उप(सभापति नवीन अधिकारी, क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति हरि लुंगेली, क्षेत्र नम्बर १ र २ का महाधिवेशन प्रतिनिधिलगायत सयौँ कांग्रेस नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन महासमिति सदस्य योगराज देवकोटाले गरेका थिए ।