- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच बुधबारदेखि शुरू भएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा कार्तिक नाच सञ्चालन भएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिए ।
यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । “यही कात्तिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लीला अनुसारका नाच देखाइन्छ । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले शुरू गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ”, अध्यक्ष चित्रकारले बताए ।
नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर नाच देखाउनु हो ।
मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनर सिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको उल्लेख छ ।