arrow

एमाले सचिवालय बैठक

यी हुन् एमाले सचिवालय बैठकका निर्णयहरू [भिडियो]

स्थानीय तह उपनिर्वाचनमा केन्द्रित हुन नेता-कार्यकर्तालाई निर्देशन, कांग्रेससँगको सत्ता सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड, मानव तस्करीमा जोडिएका पूर्व मन्त्री पार्टीबाट निलम्बित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २४ शनिबार
pradip-gyawali-07-24.jpg

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बसेर महत्त्वपूर्ण निर्णयहरू गरेको छ । आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण राष्ट्रिय हितमा केन्द्रित गर्नेबारे छलफल भएको छ । विश्व राजनीतिक घटनाक्रमलाई मूल्याङ्कन गरेर दुवै छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्नेमा पार्टीले जोड दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । 

ज्ञवालीले भने, ‘अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिलाई नियालेर हामीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमाथि आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ । अब प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । आजको बैठकले प्रधानमन्त्रीको उक्त भ्रमण अधिकतम राष्ट्रिय हितमा उपयोग गर्नका लागिसमेत सरकारलाई आग्रह गरिएको छ ।’

बैठकले प्रदेश कमिटीले सिफारिस गरी पठाएका उम्मेदवारको नाम अनुमोदन पनि गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । उनले सो उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउनका लागि सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन सिंगो पार्टी पङ्क्तिलाई आह्वान गरिएको पनि बताए। 

बैठकले कोशी प्रदेशमा आन्तरिक मामिला मन्त्री लिलवल्लभ अधिकारीलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्ने कोशी प्रदेश कमिटीको निर्णयलाई पनि अनुमोदन गरेको छ । एमाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मुलुकको राष्ट्रिय हितमा अधिकतम रुपमा उपयोग हुने विश्वास समेत व्यक्त गरेको उपमहासचिव ज्ञवालीले बताए । 

उपमहासचिव ज्ञवालीले भने,‘दोस्रो यो बैठकले आगामी मङ्सिर १६ गते हुने ४४ वटा स्थानीय तहको उपनिर्वाचनको सन्दर्भमा नेकपा (एमाले)को तर्फबाट सिफारिस भई आएका, निर्णय भई आएका प्रदेश कमिटीले निर्णय गरेर पठाएका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने काम गरेको छ । र ंिसंगो पार्टी पङ्क्तिलाई त्यो निर्वाचनमा नेकपा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालित हुन आह्वान पनि गरेको छ । तेस्रो यो बैठकले कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री लिला वल्लभ अधिकारीजीको विषयमा जुन गम्भिर प्रश्न उठेको छ । त्यो प्रश्नको कानून निरूपण नभएसम्मका लागि कोशी प्रदेश कमिटीले उनलाई पार्टीका सबै जिम्मेवारीहरू र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने जुन निर्णय गरेको छ । त्यो निर्णयलाई अनुमोदन गर्दै उनलाई सबै खालको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । र, उनको बारेमा लागेका सबै आरोपहरूको वस्तुनिष्ठ, तथ्यपरक र गम्भीर छानबिन राज्यका सम्बन्धित निकायहरूले गरुन् । र त्यो छानबिनमा पार्टीको तर्फबाट पूर्णरुपमा सहयोग हुने विश्वास समेत पार्टीले व्यक्त गरेको छ । चौथो हामीले यही मङ्सिर ७ गते काठमाडौं जिल्ला कमिटी, ललितपुर जिल्ला कमिटी र भक्तपुर जिल्ला कमिटीले काठमाडौंमा आयोजना गर्ने जागरण सभालाई सफल पार्न पार्टीका सबै जनवर्गीय सङ्गठनहरू, सम्पर्क कमिटी, सम्पर्क मञ्चहरू र अरू पेसागत सङ्गठनहरू सबैलाई त्यसमा सहयोग गर्न आह्वान गर्ने निर्णय गरेका छौं ।’ 

उनले भने,‘यो बैठकमा हामीले पछिल्लो राजनीतिक घटनाक्रमहरूको समीक्षा गरेका छौं । अमेरिकामा भर्खरै सम्पन्न भएको राष्ट्रपति निर्वाचन, केही समय अघि मात्रै रुसको कजानमा भएको ब्रिक्स समिट, अहिले अन्तर्राष्ट्रिय परिस्थितिमा आइरहेका केही नयाँ घटनाक्रमहरू, त्यसले हाम्रो देशको राष्ट्रिय हितमा पार्ने अनुकूलताहरू र चुनौतीहरू लगायतका विषयहरूमा पनि हामीले समीक्षा गर्‍यौ । र सरकारले यो बदलिँदो विश्व राजनीतिको बहावलाई ध्यानमा राख्दै राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमाथि आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौं । त्यसैको सिलसिलामा सम्माननीय प्रधानमन्त्रीज्यूको यही डिसेम्बरको पहिलो हप्ता हुने चीनको भ्रमणको बारेमा पनि केही छलफल गर्‍यौँ । र त्यो भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा रूपान्तरित गर्नका निम्ति सरकारलाई सफलता प्राप्त होस् भन्ने पनि हामीले शुभेच्छा व्यक्त गरेका छांै । ’
प्रधानमन्त्री ओलीले यही डिसेम्बर पहिलो साता चीन भ्रमण गर्दै छन् ।

उनले सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउनका लागि गरी दुई दलबीच सङ्घ, प्रदेश र स्थानीय तहमा समेत संयन्त्र बनाएर अघि बढ्ने निर्णय पनि दुई दलबीच भएको बताए ।  उपमहासचिव ज्ञवालीले भने, ‘सरकारको ४ महिने कार्यकालको समीक्षा गरेका छौं । सरकारले आधारभूत रूपमा ठिक ढङ्गले काम गर्दै अगाडि बढिरहेको दुई मुख्य राजनीतिक दलहरूको बीचमा समझदारीलाई अझ प्रगाढ बनाउन र काममा अझ बढी समन्वय ल्याउनको निम्ति हालै दुई दलको बीचमा संयन्त्रहरू पनि बनेको र यो विश्वासको वातावरणलाई अझ सुदृढ गर्दै लैजानका निम्ति सरकारलाई सफलता प्राप्त होस भन्ने कुरामा पनि हामीले जोड दिएका छौं ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ