- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेसका संस्थापक नेताद्वय सुवर्ण शमशेरको ४३ औँ स्मृति दिवस र लौहपुरुष गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्तीका अवसरमा उहाँहरूको योगदानको स्मरण गरिएको छ ।
बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित विचार गोष्ठीका वक्ताले नेताद्वयले गर्नुभएको योगदान अतुलनीय भएको बताउँदै उहाँहरूका आदर्श र विचार वर्तमानमा पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सुवर्णशमशेर र गणेशमान सिंहले गर्नुभएको त्यागलाई अनुकरण गर्न सके मात्र पनि समाज र राष्ट्रका लागि ठूलो योगदान पुग्ने बताए ।
बीपी सिद्धान्त प्रयोग भए पनि कार्यान्वयन नभएको हुँदा अब नेपाली कांग्रेसले त्यसलाई व्यावहारिक ज्ञानमा अगाडि बढाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठले सुवर्ण शमशेरले पार्टी र राष्ट्रलाई गरेको आर्थिक योगदान र गणेशमानले प्रधानमन्त्री पदसमेत त्याग गरी संविधान प्राप्त गर्नका लागि ठूलो त्याग गर्नुभएको स्मरण गरे ।
महामन्त्री विष्णुप्रसाद लामिछानेले अग्रज नेताहरुको त्याग र बलिदानीबाटै देश वर्तमान अवस्थासम्म आइपुगेको बताए ।
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक होमनाथ पौडेलले ‘नेपाली कांग्रेस, प्रजातान्त्रिक, समाजवादी, आर्थिक नीति र संस्थापक नेता सुवर्ण शमशेर’ विषयमा र प्राडा वेदनाथ शर्माले ‘नेपाली कांग्रेसः राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र गणेशमान सिंह’ विषयमा आआफ्ना विचार प्रस्तुत गरेका थिए ।
पुस्तकालयका अध्यक्ष माधवप्रसाद बास्तोला (मधु), पुस्तकालयका कोषाध्यक्ष एवं नेपाली कांग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बराल, पुस्तकालयका सदस्य कमल सापकोटालगायतले सुवर्ण र गणेशमानले गरेको योगदान चिरकाल पर्यन्त जीवन्त रहने धारणा राखेका थिए ।