यु–१९ महिला विश्वकप छनोटमा आज नेपाल थाइल्याण्डसँग खेल्दै
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
615
Shares
काठमाडौँ। युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ ।
नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु हुने छ । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।
यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको थियो । उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको हो ।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यु–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।