arrow

भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत हौँ : मन्त्री गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २६ सोमबार
prithivi-subba-gurung-05-03.jpg
फाइल तस्बिर

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जातीय सद्भावमा बलियो शक्ति हुने भएकाले भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत रहन आग्रह गरेका छन् । 

राष्ट्रिय विभूति एवं नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको स्मृति दिवसका अवसरमा पद्मरत्न तुलाधर लुमति गुठीद्वारा आयोजित कार्यक्रममा मन्त्री गुरुङ्ले धार्मिक, सांस्कृतिक र जातीय विविधताबीच एकताको महत्वबारेसमेत चर्चा गरे । 

“जहाँ सांस्कृतिक रुपमा मानिस एकबद्ध छन्, त्यो धेरै शक्तिशाली समाज हो, कसैले त्यो समाजलाई कमजोर बनाउनुछ भने पहिलो चोटी नै उसको संस्कृतिमाथि हमला गर्छ”, उनले भने । 

उनले थपे, “राष्ट्रवाद भनेको कुनै सिमामा मात्र खोज्ने कुरा होइन, हाम्रो राष्ट्रियता प्रत्येक जनताको अनुहारमा खोज्नुपर्छ, त्यसैले सबै समुदाय र व्यक्तिले राज्यको स्रोत र शक्तिमा पहुँच भएको महसुस हुनुपर्छ ।” 

मन्त्री गुरुङले राष्ट्रिय विभूति साख्वा राष्ट्रिय एकताको प्रतिक भएको उल्लेख गर्दै भाषा संरक्षणको दिगोपनका लािग घरबाटै मातृभाषाको अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 

“भाषा संरक्षणका लागि सबैभन्दा पहिला पाठशाला घर हो, पहिलो गुरुआमा भनेको घरको आमा हुन”, उनले भने, “धेरै आदिवासीका भाषा जुन व्यवहारमा रुपान्तरण हुँदैन, शैक्षिक संस्थामा पढाइँदैनन्, साहित्यमा विकास भएको छैन र व्याकरण विकास भएको छैन, त्यस्ता भाषाको संरक्षण घरघरबाट हुनुपर्छ ।”

नेपाल संवतको महत्वलाई राज्यले महत्व दिएर अघि बढने मन्त्री गुरुङले बताए । नेपाल भाषासँग सिङ्गो नेपालको सार्वभौमिकता जोडिएको उनको भनाइ थियो । 

“संयुक्त राष्ट्रसङ्घले समेत नेपाल भाषीको देश नेपाल हो भनेर चिनेको छ, त्यसैले नेपाल भाषाको महत्व, नेपाल संवतको महत्व, नेपाल मण्डलको महत्वलाई राज्यले जहिल्यै पनि महत्व दिएर अघि बढनेछ”, उनले भने । 

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाल भाषासँगै अन्य मौलिक भाषाको संरक्षणका लागि सरकार सँगसँगै समुदायको निरन्तरता आवश्यक भएकामा जोड दिइन् । 

पूर्वमन्त्री एवं पद्मरत्न तुलाधर लुमति गुठीका अध्यक्ष केशवमान शाक्यले शङ्खधर साख्वालाई सुशासन, सामाजिक न्याय र आर्थिक सङ्कटको व्यवस्थापनका लागि वर्तमान नेतृत्वले प्रेरणाको स्रोतको रुपमा लिनसक्नुपर्ने बताए ।



नयाँ