- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनुषा । झापाको मेचीनगरबाट नेपाली कांग्रेसको युवा संकल्प यात्रा निरन्तर अगाडि बढिरहेको छ । सो क्रममा संकल्प यात्रा सोमबार जनकपुरधाम पुग्यो । कांग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व केन्द्रीय महामन्त्री भुपेन्द्रजंग शाही लगायतको समन्वयमा युवा मेचीनगरदेखि महेन्द्रनगरसम्म संकल्प यात्रा रहेको हो ।
सोमबार कांग्रेसका पूर्व उपसभापति एवं उपप्रधानमन्त्री विमलेन्द्र निधीले आफ्नो निजी निवास जनकपुरधाममा स्वागत तथा सम्मान गरेका छन् ।
प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता निधीले युवा संकल्प यात्राको सम्पूर्ण टिमलाई सफलताको शुभकामना दिए ।
भ्रष्टाचार उन्मूलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न एजेन्डाहरूमा केन्द्रित रहेर पूर्व–पश्चिम संकल्प यात्रा शुरू गरिएको शाहीले बताए।
उनले सरकार नागरिकमैत्री हुनुपर्ने, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत दिनुपर्ने, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने पनि शाहीले बताए ।
सहकारी पीडितलाई तत्काल राहत तथा बचत फिर्ता गरिनुपर्ने, उद्यमशीलता, नवप्रवर्तन तथा कृषिमा लगानी वृद्धि गरिनुपर्ने, सहकारी बचत ठगी गर्नेलाई कारबाही गरिनुपर्ने उनले बताए ।
‘गल्ती गर्नेहरू जेल जान्छन् यसमा आग्रह र पूर्वाग्रह भन्ने हुँदैन। हामी सरकारलाई आग्रह गर्दछौं । सहकारी बचत दुरूपयोग गर्ने जुनसुकै पार्टी भए पनि कारबाही गरिनुपर्छ,’ ‘वाइडबडी, गिरीबन्धु टी स्टेटलगायत काण्डबारे पनि यो सरकारले छानबिन गरोस्’, उनले भने ।
सहकारीमा नागरिकहरूले गरेको बचत फिर्ता हुनुपर्ने पनि उनले बताए । जनताको जीवनशैली परिवर्तनका लागि राजनीति केन्द्रित हुनुपर्ने शाहीले बताए । ‘
यात्रामा ४० जनाको टोली रहेको नेविसंघका केन्द्रीय सदस्य विनोद शाही ठकुरीले जानकारी दिए ।
युवा संकल्प यात्रामा सविधान सभा सदस्य एवं नेविसंघका पूर्व केन्द्रीय सभापति रंजितकुमार कर्ण, युवा नेताहरू धमेन्द्र नेम्वाङ‚ पशुपति पोखरेल, शेख वकिल‚ प्रेमिका राना‚ नरेश यादव‚ चन्द्रा देवी जोशीलगायत रहेका छन् ।
त्यस्तै राष्ट्रिय कलाकारहरू राधिका हमाल‚ उदिराम खड्का‚ सुनिल थापा‚ लेलिया विश्वकर्मा र उनीहरूले युवामैत्री सन्देशमुलक गीतहरूको माध्यमबाट सांस्कृतिक प्रस्तुति गर्दै आएको बताए ।
युवा संकल्प यात्रा कार्तिक २३ गतेदेखि आरम्भ भएको हो ।