- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनताले कांग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन् । शुक्रबार पार्टी मुख्यालय च्यासलमा पार्टीको तर्फबाट आगामी मङ्सिर ७ गते काठमाडौंमा आयोजना हुने जागरण सभा कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रमुख दलहरूप्रति जनता असन्तुष्ट छन् भन्ने कुरा गलत हो भन्ने सन्देश दिन पनि पार्टीले सो जागरण अभियान सञ्चालन गर्न लागेको स्पष्ट पारे ।
नेपाली जनताले प्रमुख दलहरूबाट नै मुलुकमा सुधारको अपेक्षा गरेको महासचिव पोखरेलको जिकिर थियो । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउमा सो पार्टीले आन्दोलन गर्नु उचित नभएको पनि दोहोर्याए ।
महासचिव पोखरेलले भने, ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला कमिर्टीको अगुवाइमा जागरण अभियान कार्यक्रम हुँदैछ । उपत्यकामा नै आयोजना हुने कार्यक्रमका माध्यमबाट हामी यस्तो सन्देश दिन चाहन्छौँ कि जनता असन्तुष्टि छन् भन्ने खालको कुरा जुन खडा गर्न खोजिएको छ । त्यो होइन, जनता प्रमुख दलहरूप्रति नै विश्वास र भरोसा गर्दछन् । र, उनीहरूबाटै सुधारको अपेक्षा गर्दछन् भन्ने सन्देश दिनु पनि जरुरी छ । त्यो हिसाबले हामीले जुन सभाको आयोजना गर्न खोजेका छौं । जागरण सभा, त्यसको औचित्य त्यसले पुष्टि गर्दछ भन्ने मलाई लाग्दछ । ’
महासचिव पोखरेलले सरकारलाई काम गर्नका लागि उचित वातावरण बनाउनका लागि सत्तारुढ कांग्रेस–एमालेले सङ्घ, प्रदेश र स्थानीय तहमा संयन्त्र बनाउने काम गरेको पनि बताए । सो संयन्त्रले सरकारको काममाथि हस्तक्षेप नगर्ने उनको स्पष्टीकरण थियो ।