arrow

चौधरी ग्रुपले दियो देशको कुल राजश्वमा दुई प्रतिशत योगदान, पाँच वर्षमा साढे ७६ अर्बको योगदान  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
chaudhary-group-binod-nirva.jpg

काठमाडौँ । चौधरी ग्रुपले आर्थिक वर्ष २०८०–०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजश्वमा करिब दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो ।

चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको हाम्रो अनुमान छ । आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यवसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको पृष्ठभूमिमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको छ । 

आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको पृष्ठभूमिमा चौधरी ग्रुपको योगदान भने गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ । 

आर्थिक वर्ष २०७९–०८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक वर्षमा राजश्वमा पुर्याएको योगदान २ अर्ब ३८ करोडले बढी छ । आर्थिक वर्ष २०७९–०८० मा ग्रुपले १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको थियो । 

‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुल वातावरणकाबीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउन सकेकोमा हामीलाई खुशी लागेको छ । यसले देशको विकास निर्माण र आम नागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्नेछ भन्ने मेरो विश्वास छ’, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महसुस गरेका छौँ ।’ 

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७६–७७ मा ९ अर्ब ८७ करोड, २०७७–७८ मा १४ अर्ब २८ करोड, २०७८–७९ मा १७ अर्ब ७२ करोड, २०७९–८० मा १६ अर्ब १४ करोड, २०८०–८१ मा १८ अर्ब ५२ करोड रूपैयाँ कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो ग्रुपले स्थापित एवं नयाँ व्यवसाय वृद्धिका माध्यमद्वारा नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको बताएका छन् । ‘हामीले प्रत्येक वर्ष राजश्वमा योगदान बढाउँदै लगेका छौँ र आगामी वर्षहरूमा पनि यो वृद्धिदर कायम राख्ने हाम्रो लक्ष्य छ’, प्रवन्ध निर्देशक चौधरीले भने, ‘चौधरी ग्रुपले नेपाललाई आफ्नो प्रमुख प्राथमिकतामा राखी लगानीको दायरा विस्तार गर्दै आएको छ । हामीले पूर्वाधार र नयाँ प्रविधिमा आधारित व्यवसायमा लगानी गरिरहेका छौँ । यसबाट राष्ट्रको समग्र आर्थिक विकासमा योगदान पुग्ने हाम्रो विश्वास छ ।’ 

नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजश्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ । 

करदाताको रुपमा व्यवसायकोमार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन । यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिँदै आएको छ । 

यो दुविधालाई अन्त्य गर्न र आफुले राजश्वमा गरेको योगदानलाई आम जनमानसवीच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यवसायिक ग्रुपका हैसियतमा चौधरी ग्रुपले प्रत्येक वर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्ने गर्दछ । 

चौधरी ग्रुपले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘व्यवसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पुर्याइएको योगदानको वास्तविक तथ्य आम जनमानससमक्ष राख्न सरकारी स्तरबाटै व्यवसायिक ग्रुपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक  गर्ने व्यवस्था मिलाउनका लागि पनि हामी सम्वन्धित निकायको ध्यानाकर्षण गराउदँछौँ ।’
 



नयाँ