- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखराका लोकदोहोरी गायक किरण अधिकारीको सवारी दुर्घटनामा परी निधन भएको छ ।
सोमबार राति करिब २ बजे पोखरा महानगरपालिका वडा नं २५ हेमजाको सापकोटाचोकमा गायक अधिकारी सवार ग१६प ८३४४ नम्बरको स्कुटर दुर्घटनामा परेको थियो । सो दुर्घटनामा अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अधिकारी कास्कीको अन्नपूर्ण गाउँपालिका नौडाँडा निवासी हुन् । उनी पोखराको चिप्लेढुंगास्थित गाउँशहर दोहोरी साँझ कार्यरत थिए ।
सोमबार राति आफ्ना साथीलाई हेमजा मिलनचोकमा छोडेर फर्किँदै गर्दा दुर्घटना भएको हो । सापकोटाचोकको घुम्तीमा पल्टिएको स्कुटर सडक छेउको फलामेबारमा ठोक्किएको थियो ।
प्रहरीका अनुसार तीव्र गतिमा चलाएको स्कुटर अनियन्त्रित भइ सडक छेउको फलामको बारमा ठोक्किँदा अधिकारी उछिट्टिएर सडक मुनि पुगेका थिए । स्थानीयका अनुसार सो स्थानमा स्कुटरले चार बल्ड्यांग खाएको थियो ।
उनको शव क्षतविक्षत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
अधिकारीको निधनप्रति पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघले दुःख व्यक्त गरेको छ ।
संघका अध्यक्ष जीवन गुरुङ भीम र सचिव दिलु लामा मोक्तानले अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनको निधनप्रति शोक मनाउँदै मंगलबार पोखराका दोहोरी साँझहरु बन्द गरिएका थिए ।