arrow

राजधानीमा तीन कार्यक्रम

एमालेले उपत्यकामा शक्ति प्रदर्शन गर्दैै, के होला दुर्गा प्रसाई समूहको ? 

ट्राफिक व्यवस्थापन अस्तव्यस्त पार्ने गरी आज राजधानीमा तीन विरोधका कार्यक्रम, वैकल्पिक उपाय खोज्नुपर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
kp-oli-durga-prasai-gadi.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । जागरण सभा नाम दिइएको प्रदर्शन दिउँसो साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको छ ।

सभाअघि बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस शुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ । दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ ।

एमालेले आफ्नो पार्टी र नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै अफवाह फैलाइरहेकाहरुलाई जवाफ दिन यो सभा गरेको बताउँदै आएको छ । सभालाई सफल बनाउन एमालेले भक्तपुर, ललितपुर र काठमाडौँसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो संख्यामा मानिस ल्याउने तयारी गरेको छ । 

एक लाख कार्यकर्ता सडकमा उतार्ने एमालेको तयारी रहेको छ । 

के हुन्छ दुर्गा प्रसाई समूहको ? 

आजै काठमाडौँको कोटेश्वरमा दुर्गा प्रसाई समर्थकको र माइतीघरमा सहकारी पीडितको पनि प्रदर्शन रहेकाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनसक्ने अनुमान गर्न सकिन्छ ।

अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहले कोटेश्वरमा विरोध प्रदर्शन गर्दैछ । प्रसाई साइबर अपराधमा प्रहरीको हिरासतमा रहेका कारणले पनि यो आन्दोलन भने सशक्त हुन सकेन । 

गत वर्ष आजकै दिन भने दुर्गा प्रसाई समूहले सडकबाटै गणतन्त्र फाल्ने भन्दै आन्दोलन चर्काएका थिए । सोही दिन एमालेले तीनकुनेमा सभा गर्दा दुर्गा प्रसाई समूहले बल्खुमा प्रदर्शन र सभा गरेको थियो । 

तर यसपालि भने प्रसाई प्रहरीको हिरासतमा रहेका कारणले पनि सशक्त प्रदर्शन हुने देखिँदैन । 

एमालेको प्रदर्शनलाई असर नपर्ने गरी बिहान ११ः३० बजे कोटेश्वरमा भेला भएर प्रदर्शन गर्ने अभियन्ता रमा सिंहले बताइन् । उनका अनुसार आफूहरु मिलेर पहिले नै तय भएको प्रदर्शनको मितिलाई सम्बोधन गर्ने बताएकी हुन् । 

उनले प्रसाई नियन्त्रणमा परेपछि भने यसअघिको जस्तो प्रदर्शन हुन कठिन भएको बताइन् । 

के भएको थियो गत वर्ष ? 

गत वर्ष मंसिर ७ गते काठमाडौँ उपत्यकामा हिंसाले कुन रुप लिने हो र कति जनाको ज्यान जाने हो भन्ने चिन्ता थियो । एकातिर थियो एमाले र अर्कोतिर मेडिकल व्यवसायी दुर्गा प्रसाईं । एमालेको नेतृत्व युथ फोर्सका पूर्व अध्यक्ष महेश बस्नेतले गरेका थिए । 

युथ फोर्स अहिले नाम परिवर्तन भएर राष्ट्रिय युवा संघको नाममा चलिरहेको छ । र, दुर्गा प्रसाईंको नेतृत्वलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पनि साथ थियो । 

महेश बस्नेत मान्छे नकुटी गणतन्त्र टिक्दैन भन्थे । दुर्गा प्रसाईं शीर्ष दलहरुबाट देशले पार नपाउने भन्दै गणतन्त्र फालेर राजतन्त्र ल्याउनु पर्छ भन्थे । त्यही राजतन्त्रको नारा सुनेर राप्रपा पनि दुर्गा प्रसाईंको अभियानलाई समर्थन गर्न बाध्य भएको थियो । 

त्यो बेला रस्साकस्सी थियो । तर आँकलन गरिए विपरीत सुरक्षा निकायले अनिष्ट हुन दिएन । यद्यपि दौरासुरुवाल लगायो भने यो राजावादी हो भनेर सुरक्षाकर्मीले समातेर अपमानजनक काम भने गरेकै हो । जबकि दौरासुरुवाल राष्ट्रिय पोशाक हो भन्नेसम्म पनि भुले सुरक्षाकर्मीले । 

यसपालि गत साल नभएको दुर्घटना हुने सम्भावना छैन । किनकि प्रसाईंले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा गलत तरिकाले भिडियो बनाएर बदनाम गर्न खोजेपछि उनीमाथि अनुसन्धान भइरहेको छ । उनी अहिले प्रहरीको हिरासतमै छन् । 

प्रसाईं हिरासतमा रहे पनि उनको समूह र उनीसँग जोडिएको विभिन्न राजावादीहरुको समूहले औपचारिक रुपले कार्यक्रम गर्दैछ । 

उनले गत वर्षदेखि थालेको अभियान कायमै राखेका छन् । साथै उनका एजेन्डा बदलिएका छैनन् । उनका तिनै एजेन्डाले अहिले निरन्तरता पाउँदैछन् । उनी यसअघि एमालेको राजनीति छाडेर राजसंस्थाको आन्दोलनमा होमिएका थिए । 

उनी एमालेका केन्द्रीय सदस्य रहेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएर चर्चा बटुलेदेखि नै उनी लाइमलाइटको राजनीतिमा छन् । 

 त्यसैले उनले गत वर्ष मंसिर ७ गते काठमाडौँबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन थालेका थिए । उनले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ का नाममा मंसिर ७ गते काठमाडौँमा शक्ति प्रदर्शन भएको थियो । 

त्यसकै वार्षिक कार्यक्रमले अहिले निरन्तरता पाउने भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ