चन्द्रपुरमा विद्युतीय सवारी चार्जिङ स्टेशनको औपचारिक शुरुआत
प्रिमेश शिवाकोटी,
प्रकाशित २०८१ मंसिर २० बिहिबार
689
Shares
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा विद्युतीय सवारी चार्जिङ स्टेशन औपचारिक रुपमा शुरु भएको छ । बिहीबार मधेस प्रदेशका पूर्व भौतिक पुर्वाधार विकाश मन्त्री तथा नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले उद्घाटन गर्दै औपचारिक शुरुआत भएको हो ।
मधेस प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरशिप फण्ड’ र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा करिब साढे पाँच कठ्ठा सरकारी जमिनमा निर्माण भएको उक्त चार्जिङ सेन्टरबाट एक पटकमा ४ वटा चारपाङ्ग्रे गाडी, तीन पाङ्ग्रे ११ वटा गरेर १५ वटा चार्जिङ प्वाइन्ट रहेको उक्त चार्जिङ स्टेशन ‘एनके थापा कन्स्ट्रक्सन’ काठमाडौंका प्रबन्ध निर्देश्क देबराज अधिकारीले चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरेसँगै विधिवतत रुपमा शुरुआत भएको हो ।
पूर्वमन्त्री यादवले विद्युतीय सवारीले कम खर्चमा यात्रा गर्न सकिने हुँदा देशैभरी विधुतीय चार्जिङ स्टेसन थप्नुपर्ने धारणा राखे ।
चन्द्रपुर नगरपालिकाका मेयर सन्जय काफ्लेले मधेस प्रदेशको चन्द्रपुरमा सुबिधा सम्पन्न चार्जिङ स्टेसन बन्नु नगरको गौरबको कुरा भएको बताउँदै सुबिधासहित पालिकालाई आर्थिक आर्जन हुने बताए ।
दुई करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो चार्जिङ सेन्टेरमा यात्रुहरुका लागि पार्कसहित रिफ्रेसमेन्ट सेन्टरसमेत निर्माण भएको छ ।