धनगढी । नेपाली कांग्रेसका सांसद डा सुनील शर्माले कोइराला परिवारको नासो सभापति पद कोइराला परिवारलाई फर्काउन आग्रह गरेका छन् । उनले मुलुकको आमुल परिवर्तनमा डा शेखर कोइरालाको लगानी रहेको बताउँदै भने, 'पूर्वको कोइराला परिवारबाट ल्याएको नासो सुदूरपश्चिमबाट फेरि पूर्व फर्काउँदै पन्ँध्रौ महाधिवेशनबाट डा कोइरालालाई सभापति बनाउँ ।'
नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्रमा मनतब्य राख्दै शनिबार धनगढीमा डा.शर्माले सम्बोधन गरेका हुन् ।
प्रतिनिधि सभा सदस्य डा. शर्माले प्रजातन्त्रका लागि लडेको कोइराला परिवारका महत्वपूर्ण सदस्य डा कोइरालालाई पन्ध्रौँ महाधिवेशनबाट सभापति निर्वाचित गराउनुपर्ने अवस्था आएको बताए ।
कृष्णप्रसाद कोइरालाको हजारौँ हजार विघा जमीन राणाले खोस्दा पनि उनी प्रजातन्त्रका लागि लडेको डा शर्माले बताए ।
धनगढी विमानस्थलमा सुदूरपश्चिमका नेता तथा कार्यकर्ताहरुले गरेको स्वागतले उत्साहित बनाएको भन्दै डा शर्माले यो जनलहर डा कोइरालाको पक्षमा बढ्दै जाने बताए ।
सुदूरपश्चिमको यो जनलहरले संस्थापन पक्षमा तरङ्ग थप्ने पनि उनले बताए । विराटनगरको चारैतिर विघौं विघाह जमीनका मालिक भए पनि सबै गुमाएका स्व.कृष्णप्रसाद कोइरालाका सन्तति डा शेखर कोइराला अबको निर्विकल्प कांग्रेसको सभापति हुनुपर्ने उनले बताए ।
प्रजातन्त्रको स्थापनाका लागि लडेको कोइराला परिवार र त्यही परिवारका सदस्य रहेका डा कोइरालाले कांग्रेसको अबको नेतृत्व सम्हाल्नु पर्ने आवश्यकता आइपरेकाले सुदूरपश्चिमका नेता तथा कार्यकर्ताले डा कोइरालालाई सभापति बनाउन साथ दिनुपर्ने डा शर्माले बताए ।