राष्ट्रपति कार्यालयमा माघीको जमघट, एकजुट हुन राष्ट्रपतिको आग्रह [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
561
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै हाम्रो राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।
माघी पर्व २०८१ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सुशासन, विकास र शान्ति नै नेपाल र नेपालीको अभिष्ट भएको बताए ।
उनले हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास र शान्तिनै भएको बताए ।
उनले विभिन्न जातजातिले उत्सवका रुपमा मनाउने यस प्रकारका पर्वले नेपालीबीच आपसी प्रेम, भ्रातृत्व तथा मेलमिलापको भावना अभिवृद्धि गर्दै सबैलाई एकताको सुत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ गराउन योगदान दिने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले सबैलाई आ–आफ्नो क्षेत्रबाट निस्वार्थ ढंगले अघि बढ्न प्रेरणा मिल्ने भन्दै सम्पूर्णमा माघी पर्वको शुभकामना व्यक्त गरे ।
उक्त अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपतिहरु डा. रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै सभामुख, राष्ट्रिय सभा अध्यक्ष, हालका अधिकांश मन्त्रीहरुसँगै विभिन्न दलका नेताहरुसमेत सहभागी रहेका थिए ।