arrow

सभामुख र सचेतकहरूको बैठक

संसद्को माघ महिनाको कार्यतालिका तयार, परामर्श समितिको बैठक मंगलबार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
sabamukh-dddd.jpg

काठमाडौँ । माघ १८ गतेबाट शुरु हुने संसद्को माघ महिनाको कार्यतालिका तयार भएको छ । सोमबार सिंहदरबारमा बसेको सभामुख र राजनीतिक दलहरूका प्रमुख सचेतक/सचेतकहरूको बैठकले कार्यतालिका तयार पारेको हो । जसअन्तर्गत १८ गतेपछि २२, २३ र २४ गते संसद्को बैठक बोलाइने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । 

उनकाअनुसार २५,२६ र २७ संसदीय समितिको बैठक बस्नेछ । त्यस्तै २८,२९ र ३० गते पुनः संसद्को बैठक बस्नेछ । संसद् सुचारु हुने दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका नेताहरूले संसद्मा सम्बोधन गर्ने गरी तालिका बनाइ समय निर्धारण गरिएको बताए । त्यस्तै संसद्को पहिलो दिन नै अध्यादेशहरू सबै पेस हुने जानकारी दिए । 

उनले भने, ‘भोलि ११ बजे कार्य व्यवस्था समितिको बैठक बोलायौँ । यो महिनाको ३० गतेसम्म पाल्र्यामेण्ट चलाउँछौँ । १८ गतेबाट शुरु हुन्छ । २२,२३ र २४ गते हाउस बोलाउँछौँ । १८ गतेको बैठकमा अध्यादेशहरू सबै पेस हुन्छ । २५,२६ र २७ संसदीय समितिहरूको बैठक हुन्छ । २८,२९ र ३० गते पुनः संसद् बस्छ । प्रधानमन्त्रीज्युले सम्बोधन गर्ने कार्यक्रम छ ।’

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सभामुख देवराज घिमिरेले १८ गतेदेखि शुरु हुने संसद् अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा छलफल गरेको बताए । उनले संसद् सुचारु गर्नका लागि माघ महिनाको कार्यतालिकाका बारेमा पनि छलफल भएको बताए । 

उनले भने, ‘सम्माननीय सभामुखज्यूले सम्पूर्ण दलका प्रमुख सचेतकहरूलाई बोलाउनुभएको थियो । सबै प्रमुख सचेतकहरू त आउन सक्नुभएन । तर जति हामी उपस्थित थियौँ । त्यसमा १८ गतेदेखि शुरु हुने संसद् अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा गहन रूपमा छलफल भयो । १८ गते सुरुवात हुने संसद्मा कसरी समय विभाजन गर्ने, कसले धारणा राख्ने, यो महिनासम्मको लागि क्यालेन्डर तयार गरेर सचिवालयले ल्याएको थियो । त्यसमा छलफल भयो ।’

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले एक हप्तामा तीन दिन समिति र तीन दिन संसद् सञ्चलन गर्ने गरी कार्यतालिका बनाइएको बताए । उनले सरकार सदनप्रति उत्तरदायी नभएको महसुस आफूहरूले गरिरहेको बताए । 

उनले भने, ‘एक हप्तामा तीन दिन सभा चलाउने र तीन दिन समितिका कामहरू गर्ने गरेर नै विषयवस्तु लैजाने कुराकानी भएको छ । सरकार सांसदप्रति उत्तरदायी छैन भन्ने कुरा देखियो ।’

प्रमुख सचेतक पाण्डेले सरकारले संसद्लाई आफूसँग जोड्ने गरी जानुपर्ने बताए । त्यस्तै सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ