कोहलीको कीर्तिमानी शतकले पाकिस्तानमाथि भारतको शानदार जित
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
443
Shares
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले सजिलै पराजित गरेको हो ।
पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो । भारतका लागि विराट कोहलीले १११ बलमा अविजित रहँदै १०० रन बनाए । उनले चौका हानेर शतक पूरा गरेका थिए ।
कोहलीको यो एक दिवसीय क्रिकेटमा सर्वाधिक ५१ शतक हो । उनीपछि संन्यास लिइसकेका सचिन तेन्दुलकरको ४९ तथा संन्यासको तरखरमा रहेका रोहित शर्माको ३२ शतक छ । कोहलीले च्याम्पियन्स ट्रफीमा पहिलो शतक पनि बनाए ।
त्यस्तै श्रेयस अय्यरले ५६ र शुबमन गिलले ४६ रन बनाए । गिलले यसअघि लगातार चार अर्धशतक र एक शतक बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ४९.४ ओभरमा अल आउट हुँदै २४१ रन बनाएको थियो ।
पाकिस्तानका लागि साउद शकिलले सर्वाधिक ६२ रन बनाए भने कप्तान मोहमद रिजवानले ४६ रन बनाएका थिए । त्यस्तै खुशदिल शाहले ३८ रन बनाए भने बबर आजमले २३ र सलमान अली अघाले १९ रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलर कुलदीप यादवले ३ विकेट लिए भने हार्दिक पाण्डेयाले २ विकेट लिएका थिए । त्यसैगरी अक्षर पटेल, हर्षित राना र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।
यो जितपछि भारत समूह ए मा २ जितपछि सेमिफाइनलमा पुगेको छ । पाकिस्तान भने लगातार २ खेलमा हारेर लगभग प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तानले अब बंगलादेशसँग एक खेल खेल्ने छ ।
सोमबार बंगलादेश विरुद्धको खेल न्यूजिल्याण्डले जितेमा पाकिस्तान बाहिरिने छ भने न्यूजिल्याण्ड र भारत समूह ए बाट सेमिफाइनलमा पुग्ने छन् ।