यतिबेला सञ्चार र सञ्जालमा नेकपा एमालेका महासचिव शंकर पोखरेलको उपस्थिति र चर्चा निकै सुनिन्छ। अहिले नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको र शंकर पोखरेल एमालेको महासचिव हुनाले पनि अलि बढी चर्चा हुनु स्वभाविकै पनि हो।
केही दिन पहिले उनले सामाजिक सञ्जालमा पोस्ट गरेको विषयमा एकछिन घोत्लिन मन लाग्यो। जे होस् महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल मार्फत भए पनि सर्वसाधारण नेपाली जनताका अभिव्यक्ति, आक्रोश र कुण्ठाहरूलाई सुन्दा रहेछन् भनेर खुशी लाग्यो।
अहिले सामाजिक सञ्जाल सर्वसाधारण जो कोहीको पनि राज्यसँग पुग्ने एउटा गतिलो प्लेटफर्म पनि बनेको छ। शंकर पोखरेल सामाजिक सञ्जालमा अभिव्यक्त गरिएका भाषा र शैलीप्रति अलि बेखुशी र चिन्तित हुँदै अहिले सामाजिक सञ्जालमा घृणा,आक्रोश र गालीगलौचको अपसंस्कृति भित्रिएको छ । यो कायम रहने हो भने जो नेता जस्तो शासन व्यवस्था भए पनि देश समाजको अधपतनलाई कसैले रोक्न सक्दैन,विकास र समृद्धिको लागि नेतृत्वप्रतिको भरोसा र भविष्यप्रतिको आशावादी तथा काम गर्न सक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिन्छ भनेका छन् ।
हुन त हो,अहिले सामाजिक सञ्जालमा यति धेरै विकृति देखिएका छन् कि शिष्ट र अशिष्ट,सभ्य र असभ्य,श्लील र अश्लील भन्ने कुराको कुनै सीमा नै देखिँदैन। के साँच्चै मान्छेको हृदयमा कहिँ कतै संवेदना,सद्भाव र सम्मान नै हुँदैन कि जस्तो तरिकाले नेपालका राजनीतिक दलहरू र तिनका नेतृत्वप्रति आक्रोश,गाली र घृणाका वर्षाहरू बिर्सिरहेका देखिन्छन् ।
नेपाली समाजका कलङ्कित र तुच्छ पात्रका रुपमा राजनीतिक नेतृत्वलाई चित्रित गरिएको हुन्छ।प्रधानमन्त्रीको जन्मोत्सवमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना दिइनु पर्नेमा पढ्नै नसकिने तरिकाले अत्यन्तै तुच्छ र अश्लील शब्दहरूको प्रयोग गरेर मृत्युको कामना समेत गरेर श्रद्धाञ्जली दिइएको हुन्छ।
समाजको उन्नति र प्रगतिका लागि यस्ता किसिमका सञ्जालीय विकृतिहरू देखिनु अत्यन्तै सोचनीय र दु:खदायी कुराहरू हुन् तर आजको नेपाली समाजमा राजनीतिक नेतृत्वप्रति किन यति धेरै वितृष्णा र आक्रोश पैदा भएको छ भन्ने कुरालाई स्वयं महासचिवले गहन विश्लेषण गरी मनन गर्न जरुरी छ।
तपाईं अध्ययन गर्नुस्,किन मानिसको हृदय नै यति सारो कडा र रुखो भएको छ ? तपाईंजस्तो समाजको अध्ययन गर्ने नेतालाई जानकारी छैन भनेर मैले विश्वास गर्न सक्दिन।समाजलाई अधोपतनबाट रोक्नको लागि के चाहिन्छ र ? तपाईंलाई जनताको पूर्ण समर्थन छँदैछ त!अहिले करिब दुईतिहाईको सरकारको नेतृत्व गर्नुभएको छ।
तपाईंहरूलाई जनताले आशा र भरोसा गरिरहेकै छन्। यहीबेला सुशासन,विकास र रोजगारको खोलो बगाइदिनुस्, सबै किसिमका असन्तुष्टिहरू रोकिन्छन् अनि तपाईंहरूलाई यहाँ कुनै वैकल्पिक दल र व्यवस्थाको डर नै मान्नुपर्दैन अनि देशपनि स्वत: तपाईंले भनेजस्तै दुईदलीय प्रणालीमा जान्न र ?
आज ब्रगेल्ती रुपमा सीमारहित तरिकाले सामाजिक सञ्जालमा प्रस्फुटन भएका अपमान र घृणाका स्वरहरूका पछाडि केही पृष्ठभूमि र कारणहरू पक्कै छन्। वास्तवमा अहिले नेपाली राजनीतिको मुहान नै अशुद्ध र फोहरी छ। नेपाली राजनीति नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ।आज भ्रष्टाचार र बेइमानको पर्याय नेपाली राजनीति बनेको छ। राज्य निश्चित व्यक्तिहरूको बन्धनमा फसेर खेलौना जस्तो भएको देखिन्छ।कुनै नेतामा विश्वास गर्नै सकिँदैन ।
भ्रष्टाचारभित्र केवल आर्थिक पाटो मात्र पर्दैन मान्छेका आचरण, व्यवहार,भाषा,शैली,विश्वास आदि पनि भ्रष्टाचारका विषय हुन्छन्। मानिस आचरणले,बोलीले, व्यवहारले र विश्वासले पनि भ्रष्टाचारी हुनसक्छ। वास्तवमा मानिसको नैतिक पतन हुनु नै भ्रष्टाचार हो।अहिलेका अधिकांश नेताहरूमा केही न केही रुपमा नैतिक पतन भएका थुप्रै आचरण र व्यवहारहरू देखिन्छन्।त्यसकारण यिनीहरूलाई भ्रष्टाचारी भन्दा अपमान हुँदैन।
नेपाली जनताको यति धेरै समर्थन र सहयोग हुँदाहुँदै पनि राजनीतिक नेतृत्वले आफ्नै कारणले विश्वास गुमाएर अपमान सहनु परेको छ।आजको सन्जालीय अपमान र घृणाको प्रहार भर्खरै विकसित भएको कुनै घटना विशेषबाट मात्र भएको होइन। यसको करिब ३५ वर्षको इतिहास छ। खासगरी २०४६ सालको जनआन्दोलन नेपाली जनताले बिर्सिएका छैनन् र आन्दोलनमा कस्ता नारा लगाइएका थिए र के सपनाहरू बाँडिएका थिए, ती सबै स्मरणीय छन् ।
त्यसबेला पनि विकासको बाधक व्यवस्था नै हो भनेर तत्कालीन राजा र रानीविरुद्ध लगाइएका नाराहरू सुन्न लायक थिएनन् । यसपालिको हैजा,आर्यघाटले के भन्छ,फलानो चोर देश छोड आदि जस्ता थुप्रै सुन्नै नसकिने किसिमका अपमान र अश्लील भाषाहरू प्रयोग गरिएका थिए । अहिलेका यी अभिव्यक्तिहरू पनि त्यतिबेलाकै जस्तै होइनन् भनेर भन्नै ठाउँ नै छैन ।
त्यस्तै गिरिजाकालीन सरकार हुँदा पनि कम्युनिष्टहरूले गिरिजाको विरोधमा लगाएका नारा र अभिव्यक्तिहरू पनि सुन्नै नसकिने हुन्थे।त्यसैको निरन्तरता आजको नेतृत्वमा रहिरहेको छ। दल र दलका नेतृत्वले राजनीतिक संस्कार नै सिकेनन्। अहिले नै पनि नेतृत्वले एक अर्कालाई आरोप प्रत्यारोप गर्दा पनि अत्यन्तै गिरेर अपमान तरिकाले गाली गरिरहेकै हुन्छन्।नाम नै लिँदा पनि कुल्ला गर्नुपर्छ भनेको के हो ?
आफू सरकारमा रहँदा सभ्य र राम्रो भाषा चाहिने बाहिरिए पछि मनलाग्दो बोल्ने आचरणले गर्दा पनि सञ्जालमा यो किसिमको वितृष्णा र आक्रोश अभिव्यक्त भएको देखिन्छ।वास्तवमा नेतृत्वले जस्तो संस्कार सिकायो समाज पनि त्यस्तै हुने त हो।राजनीतिक नेतृत्वले नै एकअर्कालाई सम्मान गर्न आउँदैन वा जान्दैन भने जनताले नेतृत्वलाई कसरी सम्मान गरोस् ?राज्य र नेतृत्व सभ्य,शिष्ट र सदाचार हुन्छ भने सन्जाल पनि स्वाभाविक रुपमै सभ्य र शिष्ट, संस्कारी हुन्छ।
नेपाली जनतालाई वर्तमान राजनीतिक नेतृत्वबाट धेरै आशा र विश्वास थियो तर त्यसमा तुषारापात भयो।नेतृत्वबाट केवल सपना मात्र बाँडिए।दलहरूका बीचमा अविश्वास र षड्यन्त्रले गर्दा देशले राजनीतिक स्थिरता पाउन सकेन। राजनीतिलाई व्यवसाय बनाइयो र नेतृत्वमा भ्रष्टाचारी प्रवृत्ति मौलायो।बिना कारण सरकार ढाल्ने र एकअर्कालाई सत्तोसराप गाली गरेर नौटंकी प्रदर्शन गर्ने प्रवृत्तिले गर्दा नेतृत्वप्रति जनताको सम्मान पलाउन सकेन ।
अहिले नेपाली जनताहरू रुखा भएका छन् । वर्तमान प्रधानमन्त्री केपी ओलीले आफ्ना विरोधीलाई गर्ने आरोप वा टिप्पणी यति तुच्छ र अपमानयुक्त हुन्छन् कि ती सुन्नै नसकिने किसिमका छन्। प्रधानमन्त्री जस्तो देशकै अभिभावकले बोल्ने भाषामै प्रश्नचिन्ह लगाउने प्रशस्त ठाउँ छन् भने सन्जालीय जनतालाई त के दोष दिने ? प्रधानमन्त्रीकै कतिधेरै प्रतिशोधात्मक र विभेदपूर्ण अभिव्यक्ति छन्।पहिले प्रधानमन्त्री नै सच्चिनुपर्छ र सुध्रिनुपर्छ,अनि जनता त सच्चिहाल्छ्न् नि !
कुनैपनि हावा भरेको फुटबल वा भलिबललाई जति तल दबायो उति माथि उफ्रिन्छ भनेजस्तै व्यक्तिको आशा र सपनामा जति बन्देज लगाउन खोजियो आक्रोशको मात्रा त्यति नै माथि बढ्दै जान्छ। राज्यबाट जनआन्दोलन दबाउन खोज्दा जनताहरू कति धेरै आक्रोशित हुन्थे भन्ने कुरा पटकपटकका घटनाबाट प्रष्ट छ।अहिलेको सन्जालीय आक्रोश पनि त्यसकै परिणाम हो जस्तो लाग्छ। जनताको धैर्यताको बाँध फुट्न लागिरहेको देखिन्छ।
आज त केही न केही होला भन्यो हुँदै हुँदैन। जहिले सत्ताको दाउपेचमा राजनीतिक दलहरूले समय व्यतीत गरिरहेका हुन्छन्। २०७४ पछिकै कुरा गर्दा पनि किन एमाले र माओवादी मिले अनि किन फुटे ? तत्कालीन प्रम केपी ओलीले किन संसद भङ्ग गरे ? उपयुक्त उत्तर दिन सकेकै छैनन्।आवेग र उत्तेजना आएर संविधान नै मास्न पाइन्छ र ? सरकार भनेको कुनै व्यक्तिको आवेग र चुट्कीका भरमा परिवर्तन गर्ने खेलौना हो र ?
२०७९ पछि पनि माओवादी र एमाले किन मिल्यो र किन छुट्टियो?के बेचैन भयो र रातारात फेरि नेपाली काङ्ग्रेस र एमाले मिल्नुपर्यो?खै सात महिना बित्दा पनि राजनीतिक स्थिरता र संविधान संशोधनको एजेन्डा कता छन्?यति बलियो भनिएको सरकारलाई प्रचण्डको म्याजिक नम्बरको किन आपत्ति? नेपाली काङ्ग्रेस र एमालेजस्ता पुराना र ठूला दललाई माओवादी जस्तो सानो दलको किन डर मान्नु पर्यो र? फेरि प्रचण्डको म्याजिक नम्बरले सरकार कतिबेला भत्किने हो भन्ने डर लागिरहेको छ र? यो सरकार बलियो धरातलमा बनेको छैन भन्ने जो कोहीलाई थाहा नै छ। प्रचण्डको म्याजिक नम्बरले फेरि काम नगर्ला भन्न सकिन्न है।
जहिले पनि बकम्फुस कुरा गरेर समय बर्बाद गरेपछि हुने यस्तै नै हो।जे भनेपनि जनताले पत्याउनु पर्ने हो र?राज्य भनेको कुनै व्यक्तिको निजी सम्पत्ति होइन,तीन करोड जनताको जीवन र भविष्यसँग गाँसिएको कुरा हो।अहिलेको सन्जालीय आक्रोश भनेको धैर्यताको बाँध फुट्ने संकेत पनि हुनसक्छ।राज्यले निकै गम्भीर भएर ध्यान दिओस्।एउटा औंला अर्कोलाई देखाउँदा चारओटा औंला आफैतिर फर्किएका हुन्छन्।महासचिवज्यू,साँच्चै एकपटक आफ्नो अनुहार ऐनामा हेर्ने कि?
देशमा लोकतन्त्र आएको ३५ वर्ष भएको छ। गरिबीका कारण देश झनपछि झन खोक्रो बन्दैछ।देशको अर्थतन्त्र ग्रे लिस्टमा पर्यो भन्ने सुनिन्छ।आज प्रत्येक दिन २२ सय नेपाली रोजगारीका लागि विदेशिनु परेको छ।देशको जनसंख्याको करिब आधा देशबाहिर नै छन्।हरेक नेपालीको टाउकोमा करिब ९० हजार सरकारी ऋण छ।विदेशी सहयोग र अनुदान दलका कार्यकर्ता पाल्न र पोस्न ठिक्क छ। देशभित्र रोजगारीका अवसर छैनन् अनि के आधारमा नेतालाई सम्मान गर्ने ?
यद्यपि देशमा २०४६ पछि केही नै परिवर्तन नभएको भन्ने होइन तर जति हुनुपर्ने भएन।यसको अर्थ सामाजिक सन्जालमा नेतालाई गाली गरेको राम्रो हो र गर्नुपर्छ भन्ने मेरो मान्यता हुँदै होइन।नेता अनि जनता सबै शिष्ट र सभ्य हुनुपर्छ।नेताले इमान्दारिता, आदर्श र विश्वास गुमाउँदा अहिलेको परिणाम आएको हो।नेतृत्वले गल्ती स्वीकार्दै आफूलाई सुधार्दै जानुपर्छ र जनताका मनोकांक्षालाई बुझेर समृद्ध मुलुक बनाउन तुरुन्तै सुरु गर्नुपर्छ।
अन्त्यमा,महासचिव शंकर पोखरेलज्यू,तपाईं नेपाली राजनीतिमा खारिएको व्यक्ति हो। तपाईं आशावादी नेता पनि हो। तपाईं नेकपा एमालेमा जननेता मदन भण्डारीद्वारा प्रतिपादित जबजको कुशल ब्याख्याता पनि हुनुहुन्छ। जनताको बहुदलीय जनवादमा कसरी दुईदलीय मात्रै राजनीतिक प्रणाली हुनसक्छ र ? अहिले यो समय सान्दर्भिक मसला हो र ? भन्नेमा चाहिँ शंका छ। कृपया जनतासँग टिकाउ कुरा गर्नुस्,बिकाउ कुरा गर्न छोड्नुस् । (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन् )