सहकारी ठगीमा पक्राउ परेका जिसस म्याग्दीका प्रमुख थापा एमालेबाट निलम्बित
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
2.8k
Shares
पोखरा । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा नेकपा एमालेबाट निलम्वित भएका छन् । एमाले गण्डकीको मंगलबार पोखरामा सम्पन्न चौथो सचिवालय बैठकले थापालाई मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि निलम्वन गर्ने निर्णय गरेको हो ।
थापा एमाले म्याग्दीको पूर्वउपसचिव तथा प्रदेश कमिटी सल्लाहकार परिषद सदस्यसमेत हुन् । उनी बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका छन् । उनको मुद्दामाथि म्याग्दी जिल्ला अदालतमा बहस जारी छ ।
बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटी इन्चार्ज किरण गुरुङले पार्टीले संचालन गर्न गइरहेको तीन महिने अभियानलाई प्रभावकारी र उपलब्धिमूलक बनाउने गरेर कार्ययोजना तय गरिने र सोही अनुसार सम्पूर्ण पार्टी पंक्ति परिचालित हुनुपर्नेमा जोड दिए ।
उनले पार्टी सरकारमा रहेको अवस्थामा पार्टीका बिरुद्दमा गरिएका कुप्रचार र अफवाहको प्रतिकारसहित सबल पार्टी निर्माणमा लाग्न आग्रहसमेत गरे ।
बैठकले पार्टीले संचालन गर्न गइरहेको तीन महिने अभियानको सन्दर्भमा तयारी तथा जिम्मेवारी बाँडफाडसमेत गरेको प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जानकारी दिए ।
बैठकले सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका पार्टीको विभिन्न पदमा कार्यरत नेता कार्यकर्तालाई निलम्बन गर्ने निर्णय समेत गरेको प्रदेश कमिटीका उपसचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख मञ्जु अधिकारीले बताए ।
बैठकमा पार्टीका बागलुङ जिल्ला अध्यक्ष हीराबहादुर केसी, लमजुङ अध्यक्ष राजकुमार बिष्ट, गोर्खा अध्यक्ष सुरेन्द्र थापा, तनहुँ अध्यक्ष हरिराज कंडेल, पर्वत अध्यक्ष गोविन्द पहाडी, म्याग्दी अध्यक्ष बालकृष्ण सुवेदी, कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जिल्ला कमिटीको गतिविधि र कार्यक्रममाथि प्रकाश पारेका थिए । बैठक प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।