काठमाडौँ । अन्तर व्यवस्थापिका संघको १५०औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन सभामुख देवराज घिमिरे नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उज्वेकिस्तानको राजधानी ताश्केन्ट प्रस्थान गरेका छन् ।
सभामुख नेतृत्वको टोली शुक्रबार बिहान कतार एयरवेजको उडानमार्फत् दोहा हुँदै उज्वेकिस्तान गएको हो ।
प्रतिनिधिमण्डलमा संघीय सांसदहरू श्यामकुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोबिता गौतम, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधि सभाका सचिव हर्कराज राई, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद सचिवालयका उपसचिव राजु रिमाल रहेका छन् ।
अन्तरव्यवस्थापिका संघको १५०औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलन दुवै अन्तर्राष्ट्रिय सम्मेलन चैत्र २३ गतेदेखि २७ गतेसम्म ताश्केन्टमा हुँदैछ ।
अन्तरव्यवस्थापिका संघको सभामा सभामुख घिमिरेले “सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू” विषयमा सम्बोधन गर्नेछन् ।
सांसद श्यामकुमार घिमिरे र सूर्यमान दोङ तामाङ अन्तरव्यवस्थापिका संघका स्थायी समितिको बैठकमा सहभागी हुनेछन् ।
सांसद अञ्जान शाक्यले महिला सांसदहरूको मञ्च र सांसद सोबिता गौतमले युवा सांसदहरूको मञ्चमा सहभागिता जनाउने छिन् ।
साथै सांसद शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी पनि प्रस्तुत गर्ने कार्यक्रम छ।
सम्मेलनसँगै सञ्चालन हुने संसदका महासचिवहरूको बैठकहरूमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय सहभागी हुनेछन् ।
सभामुख घिमिरेले चैत्र २४ गते हुने असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा “बन्दुङ आत्माको ७० वर्षको सम्झनाः बन्दुङ सिद्धान्तहरूको पालना गर्न संसदहरूको भूमिका” विषयमा मन्तव्य दिनेछन् ।
उनले विभिन्न मुलुकका सभामुखहरूसँग साइडलाइन भेटवार्ता पनि गर्ने कार्यक्रम छ।