राजेन्द्र लिङ्देनको भनाइप्रति संसदमा कांग्रेस आक्रोशित
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
2.4k
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनप्रति नेपाली कांग्रेसले आक्रोश ब्यक्त गरेको छ । गत संसद बैठकमा राप्रपा अध्यक्ष लिङदेनले कांग्रेस सहमहामन्त्रीका छोराले भाटभटेनीबाट रक्सी चोरेको र उनलाई प्रहरीले समातेर छाडेको भन्ने अभिब्यक्तिप्रति कांग्रेसले आज संसदमा जवाफ मागेको हो ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन् ? त्यो राप्रपा अध्यक्ष लिङदेनले प्रमाणित गर्नुपर्ने बताए ।
‘नेपाली कांग्रेसका कुन चाँही सहमहामन्त्रीको कुन चाँही छोराले रक्सीको बोत्तल बोकेर हिँड्नुभएको हो त्यो प्रमाण पेस गर्नुपर्छ, होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ,’ प्रमुख सचेतक घिमिरेले भने ।
लिङ्देनले शुक्रबारको प्रतिनिधि सभा बैठकमा भाटभटेनीमा रक्सी चोर्नेमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि रहेको जनाए पनि नाम भने उल्लेख गरेका थिएनन् । तर उनको सो अभिब्यक्ति पछि सह महामन्त्री महेन्द्रकुमार यादवका छोराले रक्सी चोरेको भनेर प्रचार भएको थियो ।
तर यादवका दुवै छोरा डाक्टर रहेको र उनीहरू अध्ययनमा ब्यस्त रहेको भन्दै छोराहरू आकाश र विकासले खण्डनसमेत गरिसकेका छन् ।