बैंगलुरू शीर्ष स्थानमा, मुम्बई तेस्रोमा उक्लियो, लखनऊको प्लेअफ यात्रा कठिन, यस्तो छ समीकरण
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
667
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लिग चरणका ४६ खेल सकिएको छ। आइतबार भएका दुई खेलको नतिजाले अङ्क तालिकामा ठूलो परिवर्तन आएको छ।
पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनऊ सुपर जायन्ट्सलाई ५४ रनले पराजित गर्यो भने रातिको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरूले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हरायो। यी नतिजापछि बैंगलुरू अङ्क तालिकाको शीर्ष स्थानमा र मुम्बई तेस्रो स्थानमा उक्लिएको छ।
अङ्क तालिकाको वर्तमान अवस्था: रोयल च्यालेन्जर्स बैंगलुरू: १० खेल, ७ जित, ३ हार, १४ अङ्क (पहिलो स्थान)
गुजरात टाइटन्स: ८ खेल, ६ जित, २ हार, १२ अङ्क (दोस्रो स्थान)
मुम्बई इन्डियन्स: १० खेल, ६ जित, ४ हार, १२ अङ्क (तेस्रो स्थान)
दिल्ली क्यापिटल्स: ९ खेल, ६ जित, ३ हार, १२ अङ्क (चौथो स्थान)
पञ्जाब किंग्स: ९ खेल, ५ जित, ३ हार, १ बराबरी, ११ अङ्क (पाँचौँ स्थान)
लखनऊ सुपर जायंट्स: १० खेल, ५ जित, ५ हार, १० अङ्क (छैटौँ स्थान)
कोलकाता नाइट राइडर्स: ९ खेल, ३ जित, ५ हार, १ बराबरी, ७ अङ्क (सातौँ स्थान)
सनराइजर्स हैदराबाद: ९ खेल, ३ जित, ६ हार, ६ अङ्क (आठौँ स्थान)
राजस्थान रोयल्स: ९ खेल, २ जित, ७ हार, ४ अङ्क (नवौँ स्थान)
चेन्नई सुपर किंग्स: ९ खेल, २ जित, ७ हार, ४ अङ्क (दसौँ स्थान)
मुम्बईसँगको हारपछि लखनऊ सुपर जायंट्सको प्लेअफ यात्रा कठिन बनेको छ। १० खेलमा ५ जित र ५ हार बेहोरेको लखनऊ १० अङ्कका साथ छैटौँ स्थानमा छ। प्लेअफमा पुग्नका लागि उसले बाँकी चारवटै खेल जित्नुपर्ने हुन्छ । मुम्बई इन्डियन्सले १० खेलमा ६ जित निकालेको छ र १२ अङ्कका साथ तेस्रो स्थानमा छ। प्लेअफमा स्थान बनाउन मुम्बईलाई बाँकी ४ खेलमध्ये ३ खेल जिते पुग्नेछ।
दिल्ली क्यापिटल्सले ९ खेलमा ६ जित हात पारेको छ र १२ अङ्कका साथ चौथो स्थानमा छ। प्लेअफमा पुग्नका लागि दिल्लीलाई बाँकी ५ खेलमध्ये ३ खेल जित्नुपर्नेछ। रोयल च्यालेन्जर्स बैंगलुरू १० खेलमा ७ जितसहित १४ अङ्कका साथ शीर्ष स्थानमा छ। बैंगलुरूलाई प्लेअफमा पुग्न अब बाँकी ४ खेलमध्ये २ खेल मात्र जिते पुग्छ।
आज जयपुरमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ। ८ खेलमा ६ जित र २ हारसहित १२ अङ्क जोडेको गुजरात दोस्रो स्थानमा छ। आज राजस्थानलाई हराएमा गुजरात १४ अङ्कसहित शीर्ष स्थानमा उक्लिनेछ। किनभने उसको रन रेट शीर्ष स्थानमा रहेको बैंगलुरूभन्दा राम्रो छ।
राजस्थान रोयल्स ९ खेलमा २ जित र ७ हारसहित ४ अङ्कका साथ नवौँ स्थानमा छ। आजको खेलसहित उसका ५ खेल बाँकी छन्। प्लेअफको सम्भावना जीवित राख्न राजस्थानले बाँकी सबै पाँच वटै खेल जित्नुपर्ने हुन्छ र अन्य टोलीको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्ने हुन्छ। आज हारेमा राजस्थानको प्लेअफको आशा लगभग समाप्त हुनेछ।
हेबैंगलुरूका जोश हेजलवुडले आइतबार २ विकेट लिएसँगै १८ विकेटका साथ सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। आज गुजरातका प्रसिद्ध कृष्णाले ३ विकेट लिए उनलाई पछि पार्न सक्छन्। बैंगलुरूका विराट कोहलीले आइतबार ५१ रन बनाएपछि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका छन्। आज गुजरातका साई सुदर्शनले २८ रन बनाए कोहलीलाई पछि पार्न सक्छन्।
लखनऊ सुपर जायंट्सका निकोलस पूरन यस सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याटर हुन्। उनले अहिलेसम्म ३४ छक्का प्रहार गरेका छन्। त्यसपछि सूर्यकुमार यादवले २३ र प्रियांश आर्याले २२ छक्का प्रहार गरेका छन्।