arrow

नागरिकको मन जित्ने र संगठन बलियो बनाउने काम गर्नुपर्छः मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
nepali-congress-gandaki-meeting.jpg

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको बसेको बैठकले विविध निर्णय गरेको छ ।

बीपी स्मृति भवन लामाचौरमा भएको बैठक नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको सभापतित्व र केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष उपस्थितिमा भएको थियो ।

बैठकमा मुख्यमन्त्री पाण्डेले पार्टीबाट चुनाव जितेका जनप्रतिनिधि र पार्टीबीच समय-समयमा छलफल भइरहनुपर्नेमा जोड दिए ।

“यो नीति तथा कार्यक्रम तय गर्ने समय हो, सार्वजनिक हित र सेवामूलक घोषणाका लागि सुझाव आवश्यक छ, नागरिकको मन जित्ने र संगठन बलियो बनाउने कार्यमा लाग्नु पर्छ”, उनले भने ।

पार्टी सभापति शर्माले प्रदेश कार्यसमितिले हालसम्म गरेका कार्य माथि प्रकाश पार्दै जिम्मेवारीमा रहेका सबै साथीले आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्नुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालय स्थायित्वका लागि नयाँ भवन निर्माण भइरहेको जानकारी दिए ।

सभापति शर्माले भने, “पार्टी र सरकार विचको सम्बन्ध राम्रो र बलियो हुनुपर्छ । प्रजातन्त्रमा सबैको जीत हुन्छ, हाम्रो विरासत राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रता नै हो ।”

बैठकमा उपसभापति मेखलाल श्रेष्ठले हामीले यो वा त्यो गुट, उपगुट नभनि सबै कांग्रेस बन्न सक्नुपर्ने बताए । 

महामन्त्री विष्णुप्रसाद लामिछानेले पार्टीले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराए ।

पार्टीको विधान अनुसार महिला, दलित र पर्यटन गरी तीन वटा विभाग थप गर्ने, प्रदेश भित्र रहेका महिला, तरुण दल तथा नेविसंघको विवादलाई चाडै नै समाधान गरी अधिवेशन गराउनको लागि केन्द्रीय कार्यसमितिसँग माग गर्ने निर्णय भएको नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले जानकारी दिए ।

यसैगरी क्रियाशिल सदस्यको नवीकरण र नयाँ वितरण कार्यलय प्रभावकारी रुपमा सम्पन्न गर्ने, देशमा चलिरहेको शिक्षक आन्दोलनलाई तुरुन्त वार्ताद्वारा समाधान गरी शीघ्र रुपमा शिक्षा ऐन ल्याउन सरकारसँग जोडदार माग गर्ने निर्णय भएको प्रवक्ता बास्तोलाले बताए ।

बैठकमा विभागका प्रमुख पूर्णबहादुर दाहाल, सीता गुरुङ, ईन्द्रराज पौडेल, द्रोणवन सन्यासी, अजित क्षेत्री, सरिता गुरुङ, हरिप्रसाद बराल, अनोद श्रेष्ठ, रविकला खनाल, शान्तिरमण वाग्ले, रमेश पौडेल, शकुन्तला शर्मा, आशिक गुरुङ, बाबुराम पोखरेल, शिरोमणि बराल, नेपाली कांग्रेस स्याङ्जा जिल्लाका कार्यवाहक सभापति केदार काफ्ले, म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठलगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ