केपी ओलीको स्टन्टले भारतसँगको सम्बन्ध बिग्रियो – प्रभु साह
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
2.9k
Shares
सुनसरी । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा मुलुकमा भैराखेको बेथितिको नेपाली कांग्रेस छड्के किनाराको साक्षी बनेको टिप्पणी गरेका छन् ।
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सुनसरीको इनरुवामा आजपा निकटको आम ट्रेड युनियन फेडरेसनद्धारा आयोजित दलाल दलतन्त्र विरुद्धम खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘मुलुकमा बेथिति, भ्रष्टाचार, अनियमितता बढदै गईरहेको छ । प्रधानमन्त्रजी हरेक क्षेत्रमा असफल हुनुभएको छ र छड्के किनाराको साक्षी कांग्रेस हुनु दुखद छ । आम जनताले परिवर्तन र निकास खोजेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘एउटा गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देश कसरी चलाउछ ? सरकारले मुलुकलाई अन्योल बनाएको छ । यसरी मुलुक अगाडि बढ्न सक्दैन ।’
यस्तै उनले प्रधानमन्त्री ओलीको स्टन्टले वैदेशिक सम्बन्ध बिग्रदै गएको बताए । ‘मुलुकलाई अगाडि बढाउन असफल भएको वर्तमान सरकारको स्टन्टले वैदेशिक सम्बन्ध बिग्रदै गएको छ । हाम्रा दुई छिमेकी भारत र चीनसँग सम्बन्ध राम्रो छैन । प्रधानमन्त्रीको स्टन्टले भारत सहितका देशसंगको सम्बन्ध बिग्रेको छ,’ उनले भने ।
श्रमजीवी, मजदुरसहित आम जनताको पक्षमा काम नगरी वर्तमान सरकार बिचौली र भगौडा वर्गको सेवामा लागेको उनले बताए । बिचौली र भगौडा वर्गको सेवा गरिरहेको सरकारले बिचौलीकै सेटिङमा लागेकाले गभर्नर नियुक्तिमा ढिलाई गरेको उनले बताए ।
नेपाल सहित विदेशमा श्रमजीवी मजदुरहरु विभिन्न समस्याका कारण तड्पिइरहेको भए पनि सरकार मौन बसेको उनले बताए । विदेशमा काम गरिरहेका नेपाली मजदुरहरुले ट्रेड युनियनको हकअधिकार पाउनुपर्ने आजपा अध्यक्ष साहले बताए ।
‘अहिलेको २१औं शताब्दीमा दास्ताको नारकिय जिवनमा धकेल्न पाइन्छ ? स्थायी जागिरेले आफ्नो अधिकारका लागि संगठन निर्माण गर्न पाउने, ग्रुप बार्गेनिङ गर्न पाउने तर पराई देशमा गएका युवा मजदुरले बोल्न पनि नपाउने यो कहाँको न्याय हो ?’ आजपा अध्यक्ष साहले सरकारसंग प्रश्न गरे ।