काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबार धेरैजसो पेट्रोप पम्प बन्द रहे । धेरैलाई लाग्यो होला कि बिहीबार मजदुर दिवस भएकाले श्रमिकले बिदा पाएछन् ।
खासमा त्यस्तो नभइ जब पेट्रोलियम पदार्थको मूल्य घट्छ त यो तमासा पेट्रोल पम्पहरुले देखाउने गरेका छन् । यसमा सम्बन्धित निकायले खासै चाँसो राख्दैन ।
उपभोक्ताले बुझ्ने भनेको पेट्रोलियम पदार्थ सकिएपछि पम्पहरु बन्द हुने हुन् । यसको ठीक विपरीत पेट्रोलियम पदार्थको मूल्य बढ्दा पेट्रोल पम्प बन्द हुने दृष्य कहिले देखिँदैन ।
त्यतिमात्र होइन पेट्रोलियम पदार्थको भाउ इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने गर्दछ । सो अनुसार कहिले घटेर आउँछ त कहिले बढेर ।
यसको सूची निगमले राति ८ देखि ९ बजेको बीचमा दिने गर्दछ । यदि भाउ बढेर आएको भए फेरि त्यो रात १२ बजेसम्म पेट्रोल छैन भनेर बन्द गरिन्छ । यसको कारण हो मध्यरातसम्म पुरानै भाउमा बेच्नुपर्ने हुन्छ ।
यसरी हरेक पटक उपभोक्ता ठगिने गरेका छन् । सम्बन्धित निकायलाई यसको चासो नहुनुका पछाडि पनि कुनै रहस्य हुनु स्वभाविक हो ।
गत बुधबार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा १ रुपैयाँ घटाएको थियो । मूल्य घटेसँगै उत्साहित धेरै उपभोक्ताले बिहिबार तेल हाल्न नपाइ फर्किए ।