सरकारले 'जेन जी' पुस्तालाई सम्बोधन गर्न आवश्यक प्रतिबद्धता देखाएन - नेता केसी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
678
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले 'जेन जी' पुस्तालाई सम्बोधन गर्न आवश्यक प्रतिबद्धता नदेखाएको भन्दै आलोचना गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले जेन जी पुस्ता (सन् १९९७ देखि २०१२ सम्म जन्मिएका १३ देखि २८ वर्ष उमेर समूहका युवायुवती) को समस्यालाई सम्बोधन गर्न सरकारले ठोस योजना नल्याएको बताए ।
उनले दैनिक तीन हजारदेखि ५ हजार युवाहरू रोजगारीको निम्ति विदेशिएको र दैनिक तीनदेखि ५ वटासम्म शवहरू नेपाल फर्किने गरेको बताए । उनले यसको उपचारको खोजी नगरी जेन जी पुस्ताको नयाँ नामकरण गरेर मात्रै त्यसलाई राम्रो भन्न नसकिने जिकिर गरे । उनले जेन जी पुस्तापछि जन्मिएको अल्फा पुस्ता पनि लागूपदार्थ दुर्व्यसनी, चिन्ता र आत्महत्याजस्ता समस्याबाट पीडित भएको उल्लेख गर्दै यस्ता मुद्दालाई राष्ट्रिय सामाजिक आन्दोलनका रूपमा विकास गर्न सरकारले ध्यान नदिएको आरोप लगाए ।
उनले भने, “जेन जी पुस्ता भनेको सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरू, जसको उमेर १३ देखि २८ वर्षसम्मका युवायुवतीहरूलाई प्रतिनिधित्व गर्छ । यसलाई सम्बोधन गर्न जुन खालको महत्वपूर्ण प्रतिबद्धता हुनुपर्ने थियो, त्यो छैन । अहिले दैनिक तीन हजारदेखि ५ हजार युवाहरू रोजगारीको निम्ति विदेशिएका छन् । दैनिक तीनदेखि ५ वटासम्म मृत शवहरू नेपाल फर्किएका छन् । यसको उपचारको खोजी नगरी जेन जी पुस्ताको नयाँ नामकरण गरेर मात्रै त्यसलाई राम्रो भन्न सकिँदैन । जेन जी पुस्तापछि जन्मिएको अल्फा पुस्ता पनि आइसकेको छ । लागूपदार्थ दुर्व्यसनी, चिन्ता, आत्महत्याबाट पीडित छन् । तिनीहरूलाई राष्ट्रले एउटा सामाजिक आन्दोलन रूपमा कसरी विकास गर्न सकिन्छ त्यतातर्फ ध्यान दिएको देखिँदैन ।”
उनले युवा पुस्ताको भविष्य सुनिश्चित गर्न ठोस नीति र प्रतिबद्धता आवश्यक रहेको जिकिर गरे ।