सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा आयोजना हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
647
Shares
काठमाडौँ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वभरका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा आयोजना हुने भएको छ। एभरेष्ट एलाइन्स नेपालले पर्वतारोहीहरूलाई एकै ठाउँमा भेला गरी अनुभव आदानप्रदान गर्ने र नेपालको साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ १३ गते काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको हो।
एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालका अनुसार नेपालले पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ को आयोजना गर्दैछ। सम्मेलनमा सहभागी हुन हालसम्म १६ देशका १७७ आरोहीले आफ्नो नाम दर्ता गराइसकेका छन्। आयोजकले सगरमाथाको सफल आरोहण गरेका विश्वभरका पाँच सय आरोहीको सहभागिता रहने अपेक्षा गरेको छ।
सम्मेलनमा भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, इटाली, स्विट्जरल्याण्ड, नर्वे, इरान, सिङ्गापुर, अष्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायत विभिन्न मुलुकका आरोहीहरूको सहभागिता रहनेछ।
अध्यक्ष नेपालले भने, “सम्मेलनमा ७१ वर्षअघिका सगरमाथा आरोहीको सहभागिता रहनेछ। कीर्तिमानी आरोहीहरूले आफ्ना अनुभवहरू आदानप्रदान गर्नेछन्। साथै, फरक क्षमता भएका कीर्तिमानी आरोहीहरूको प्रस्तुति पनि रहनेछ।” सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा पहिलोपटक हुन लागेको यो सम्मेलनमा पहिलोपटक सर एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई विशेष सम्मान गरिने पनि उनले जानकारी दिए।
अध्यक्ष नेपालका अनुसार सम्मेलनमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावबारे विस्तृत छलफल हुनेछ। यसका साथै, हिमाल आरोहीहरूका समस्या र आरोहणका क्रममा भएका खुसीका अनुभवहरू पनि आदानप्रदान गरिनेछन्।
आयोजकका अनुसार प्रकृतिका लागि विश्वव्यापी कोष (डब्लुडब्लुएफ), अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), समृद्ध पहाडलगायत विभिन्न संघसंस्थाहरूको सहभागितामा हिमालका समस्याबारे आरोहीहरूसँग समूहगत छलफल कार्यक्रम पनि राखिएको छ।
नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्ट), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, होटल सङ्घ नेपाललगायत पर्यटन व्यवसायीका छाता संस्थाहरूले यस सम्मेलनको समन्वय र सहकार्य गरिरहेका छन्।
पर्यटन व्यवसायीहरूले यो सम्मेलन नेपाल भ्रमण गर्न आउने र बढी खर्च गर्ने पर्यटकहरूलाई प्रोत्साहन गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। नाट्टाका पूर्वअध्यक्ष अच्युत गुरागाईंले यो सम्मेलन नेपालको पर्यटन क्षेत्रमा एक महत्वपूर्ण कार्यक्रमको रूपमा स्थापित हुने र साहसिक पर्यटन गन्तव्यको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।