arrow

मुस्ताङका तीन पालिकामा हिउँ चितुवाको सर्वेक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
snow-leopard.jpg

मुस्ताङ । मुस्ताङका तीनवटा पालिकामा हिउँ चितुवा र यसका आहारा प्रजातिहरूको विस्तृत सर्वेक्षण सुरु गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय, जोमसोमको संयुक्त पहलमा यो सर्वेक्षण अघि बढाइएको हो।

एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तका अनुसार थासाङ, घरपझोङ र वारागुङ मुक्ति क्षेत्रको उच्च लेक, खर्क, पाटन र जङ्गललगायतका सम्भावित बासस्थानमा हिउँ चितुवा र यसका आहारा प्रजातिको गतिविधि पत्ता लगाउन क्यामेरा ट्यापिङ सुरु गरिएको छ। यसका साथै, हिउँ चितुवा र साधारण चितुवाको 'ओभरल्यापिङ' (बासस्थान खप्टिएको) गतिविधिसमेत पत्ता लगाइनेछ।

सर्वेक्षणका लागि कूल ३२ वटा क्यामेरा जडान गरिएको छ। यी क्यामेराहरू समुन्द्री सतहबाट तीन हजार मिटरदेखि चार हजार छ सय मिटरको उचाइसम्म हिउँ चितुवा र आहारा प्रजातिको सम्भावित बासस्थान क्षेत्रमा राखिएका छन्। कार्यालय प्रमुख गुप्तका अनुसार, क्यामेरामा वन्यजन्तुको श्रव्यदृश्य रेकर्ड गर्ने प्रविधि भएकाले सर्वेक्षणमा सहज हुनेछ।

एक्याप जोमसोमका वन रेञ्जर दीपक ओलीले म्याग्दी र मुस्ताङको सिमाना घाँसादेखि साङ्ता हुँदै मुक्तिनाथ, झोङ, लुप्रा, छुसाङ, समर, तेताङ, जोमसोम लेक र मार्फाको बतासे लेकलगायतका उच्च स्थानमा हिउँ चितुवा र आहारा प्रजातिको संरक्षण तथा अनुगमनका लागि क्यामेरा ट्यापिङ सुरु गरिएको जानकारी दिए। सर्वेक्षणका लागि ४५ दिनसम्म क्यामेरा ट्यापिङ गरिनेछ र प्रत्येक क्यामेरा पाँच किलोमिटरको दूरीमा राखिएको छ।

यसपटकको सर्वेक्षणमा हिउँ चितुवाको अध्ययनका साथै आहारा प्रजातिको अवस्था र हिउँ चितुवा तथा साधारण चितुवाको बासस्थान कसरी खप्टिएको छ भन्ने कुराको पनि अध्ययन गरिने वन रेञ्जर ओलीले बताए। "हिउँ चितुवा कति तलसम्म झर्ने गरेको छ र चितुवा कति माथिल्लो उचाइसम्म पुग्ने गरेको छ, त्यसको विवरण क्यामेरा ट्यापिङबाट अध्ययन गरिनेछ," उनले भने।

यसका अतिरिक्त, हिउँ चितुवाको दिशा सङ्कलन गरी प्रयोगशाला परीक्षण गरेर वास्तविक तथ्य पत्ता लगाइनेछ। एक्यापले गत वर्ष उपल्लो मुस्ताङ र तल्लो मुस्ताङमा पनि हिउँ चितुवा सर्वेक्षण गरेको थियो, तर यसपटक तल्लो मुस्ताङलाई विस्तृत तरिकाले समेट्ने गरी ट्यापिङ सुरु गरिएको हो।

एक्याप जोमसोमका अनुसार, हिउँ चितुवा तथा अन्य वन्यजन्तुको गतिविधि सर्वेक्षणका लागि राखिएका यी क्यामेराहरूले मुस्ताङका उच्च लेक, खर्क र पाटनमा हुने सम्भावित वन्यजन्तुको चोरी सिकारी नियन्त्रणमा पनि योगदान पुर्‍याउनेछन्। हाल जिल्लाका उच्च लेक तथा पाटनमा यार्सागुम्बा टिप्ने सिजन सुरु भएकाले अवान्छित गतिविधिहरूलाई क्यामेरा ट्यापिङले ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ