आजबाट असार २२ सम्म वृहस्पति ग्रह अस्त, यस अवधिमा के गर्ने, के नगर्ने ?
ज्यो हरि पन्त,
प्रकाशित २०८२ जेठ २९ बिहिबार
893
Shares
काठमाडौँ । शुभता, मार्गदर्शन र विवेकको प्रतीकका साथै ज्ञान, धर्म, विवाह, सन्तान र शुभ कार्यको प्रमुख कारक मानिने वृहस्पति ग्रह आज साँझदेखि पश्चिममा अस्त हुँदैछन् । वृहस्पति आज साँझ ५:०७ देखि अस्त भई असार २२ गते आइतबार बिहान ६:५३ बजे पूर्वमा उदय हुनेछन् ।
वृहस्पति ग्रह सूर्यसँग ११ डिग्रीभन्दा कम कोणमा आउने भएकाले अस्त मानिनेछ । यसैका कारण उसले दिने फल कमजोर हुन्छ र पूर्ण रूपमा निष्क्रिय मानिने विश्वास गरिन्छ ।
ग्रह अस्त हुँदा यसका प्रभावहरू पृथ्वीका कम आउने विश्वास गरिन्छ र शुभ कार्यहरू गरिँदैन । वृहस्पति र शुक्रलाई निकै महत्वपूर्ण ग्रहको रुपमा मानिन्छ । यी ग्रह अस्तको समयमा शुभ कार्य गर्न नहुने र गरेमा निष्फल हुने शास्त्रीय मान्यता छ ।
वृहस्पति ग्रह अस्त हुने भएकाले ज्येष्ठ २९ देखि असार २२ गतेसम्म र २२ गतेपछि मंसिरसम्म पञ्चाङ्गमा विवाहको लगन राखिएको छैन । विवाहका लागि मङ्सिर ६ गतेसम्म कुर्नुपर्ने छ ।
वृहस्पति र शुक्र अस्त हुनुभन्दा तीन दिन अघिदेखि र तीन दिनपछिसम्म शुभ कार्य गर्न नहुने शास्त्रीय मान्यता छ । यसैका कारण पोखरामा जारी कोटीहोममा हवन, व्रतबन्ध लगायतका कार्य २६ गते नै समापन गरिएको थियो ।
वृहस्पति र शुक्र अस्त भएको समयमा नित्य गरिने कर्म जस्तैः स्नान, सन्ध्या, पाञ्चायन पूजा, चातुर्मास्यव्रत, तुलसी पूजा एवं विवाह, तुलसीको मठमा हवन, राम नवमी आदि गर्न मिल्छ ।
यस्तै अर्को गति नभएका नित्य कर्म र श्राद्ध, तर्पण, आशौच, मृतकको क्रिया, ग्रहणस्नानादी, नैमित्तिक कर्म भने गर्न मिल्नेछ । असार २२ गते तुलसी रोप्ने दिन (हरिशयनी एकादशी व्रत) र २३ गते चतुर्मास व्रत शुरु हुने भएकोले यी काम गर्न कुनै बाधा नपर्ने शास्त्रीय मान्यता छ ।
वृहस्पति अस्तको समयमा इनार, बगैँचा, तलाउ वा कुवा निर्माण, गृहराम्भ वा गृहप्रवेश, मन्दिर आदि निर्माण, देवता स्थापना, प्राण प्रतिष्ठा आदि गर्नुहुँदैन ।
साथै चान्द्रायाणदी व्रतको आरम्भ र उद्यापन, वधुप्रवेश, तुलादानादि माहादान, सोमयाग, अष्टकाश्राद्ध, आग्रायणेष्टि, जलशाला निर्माण, प्रथम उपाकर्म, वेद व्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षा ग्रहण, चूडा, व्रतबन्ध, विवाह, कहिल्यै नगरिएको देवताको दर्शन, कहिल्यै नगएको तीर्थयात्रा, अग्निहोत्र, सन्यासव्रत, चतुर्मास्ययाग, प्रथम राजदर्शन, राज्याभिषेक, समावर्त, कर्णवेध जस्ता शुभ कार्य पनि यस अवधिमा गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ ।