काठमाडौँ । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सबै सांसदहरुले संघीय सदनमा निलो रिबन लगाएर उपस्थित भए ।
मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउँछ । रास्वपाले मानव तस्करी भएको भन्दै विरोध जनाएको हो ।
भिजिट भिसा प्रकरणको विरोध गर्दै आएको रास्वपाले निलो रिबन नै लगाएर विरोध गरेको हो ।
यसलाई संसदले भने निको मान्दैन । किनकि कानूनले जथाभावी पोशाक लगाएर संसद भवनभित्र छिर्न दिन्न ।
सोही पोशाकको विरोधमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सदनमा मर्यादित पोशाकमा सांसद आउनुपर्ने नियमावलीमा लेखिएको भए पनि केही सांसदले ‘स्काफ’लगाएको भन्दै आपत्ति जनाए ।
“सदनमा अमान्य हुने पोशाक लगाएर पनि आउन थालियो भने त्यसले संसद्को मर्यादा र गरिमा जोगाउँदैन, यस्तो व्यवहार गर्ने सांसदलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्काशन गर्नेसम्मको कारबाही गर्न आवश्यक छ”, उनले भने ।
स्काफ भिरेरै रास्वपाका सांसदहरुले संसदमा नाराबाजी गरेपछि कांग्रेसले नियमापत्ति जनाउँदै रास्वपा सांसदहरूलाई निष्कासन गर्न सभामुखसमक्ष माग गरेको हो ।
घिमिरेले बोलेपछि झन् आक्रोशित भएको रास्वपाले ‘वेल’ घेराउ गर्न पुगेपछि सभामुख देवराज घिमिरेले संसद आधा घण्टाका लागि स्थगन भएको जनाएका थिए ।
निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उभिएर विरोध गरेका थिए ।
‘भिजिट भिसा’का नाममा मानव तस्करी भइरहेको भन्दै ती दलले निष्पक्ष अनुसन्धान नभएसम्म सदनको अवरोध जारी रहने बताउँदै आएका छन् ।
प्रतिपक्षी सांसदले विरोध गरेपछि सभामुख घिमिरेले रास्वपाकी सांसद चन्दा भण्डारी कार्कीलाई आफ्ना विषय राख्न समय दिए ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी रोक्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन होस्”, उनले सदनको अवरोध अन्त्य गर्ने सूत्र सुनाउँदै भनिन् ।
रास्वपाको विरोधपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको अर्को बैठक ३० मिनेटपछि बस्ने गरी स्थगन भएको घोषणा गरेका थिए ।
त्यसपछि पनि रास्वपाको अडानपछि सभामुखले बाध्य भएर बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको संसद सचिवालयले जनाएको छ ।