सिप्रदीयन सहायता संस्थाले प्रहरीलाई दियो दुई सय थान लाइफ ज्याकेट
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
631
Shares
काठमाडौँ । मनसुनको शुरूआतसँगै बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्ले पार्न सक्ने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित सिप्रदी ग्रुप अन्तर्गतको सिप्रदीयन सहायता संस्थाले काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई २०० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ ।
सिप्रदी समूहको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो सहयोग विपद् व्यवस्थापनमा अग्रपंक्तिमा रहने सुरक्षाकर्मीहरूलाई थप तयारीमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।
उक्त कार्यक्रम नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी टेकबहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा नेपाल प्रहरीका डीआईजी ओमबहादुर राना, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत सीईओ राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत सीओओ राजेशप्रसाद गिरी, उपाध्यक्ष सौरभराज थपलियालगायत सिप्रदी र नेपाल प्रहरीका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तामाङले सुरक्षाकर्मीहरूको सुरक्षाका लागि यस्ता उपकरणहरू अत्यन्त उपयोगी हुने भन्दै सिप्रदी समूहप्रति आभार व्यक्त गरे ।
डिआइजी रानाले आपतकालीन अवस्थामा खटिने प्रहरीहरूको तयारीमा यस्तो सहयोग प्रेरणादायी हुने बताए। त्यस्तै, सिप्रदी ट्रेडिङ प्रालिका ऋभ्इ श्रेष्ठले समाज र समुदायप्रतिको उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राख्दै सिप्रदी समूहले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
सिप्रदीयन सहायता संस्था, सिप्रदी समूहले सञ्चालन गरेको सामाजिक उत्तरदायित्व कार्यक्रमहरूको प्रमुख अङ्गका रूपमा, शिक्षा, स्वास्थ्य, वातावरणीय संरक्षण र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय रहँदै आएको जनाएको छ ।
यस पटकको सहयोगले वर्षासँगै आउने सम्भावित संकटहरूलाई सामना गर्न प्रहरी प्रशासनलाई थप सजग र सक्षम बनाउने अपेक्षा गरिएको छ ।