इजरायल–इरान द्वन्द्व: ८८५ नेपालीले स्वदेश फर्कन विवरण टिपाए, परराष्ट्रमन्त्री भन्छिन्- सुरक्षा उच्च प्राथमिकतामा
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
2k
Shares
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले इजरायलबाट नेपाल फर्कन चाहने ८८५ जना नेपालीले आफ्नो विवरण टिपाएको जानकारी दिएकी छिन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री राणाले विदेशमा कार्यरत नेपालीहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी हुन्।
इजरायल र इरानबीचको बढ्दो द्वन्द्वका कारण प्रभावित क्षेत्र तथा अन्य मुलुकमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको मन्त्री राणाले स्पष्ट पारेकी छिन्। सरकारले युद्ध सुरु भएदेखि नै एड्भाइजरी जारी गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ।
मन्त्री राणाका अनुसार, परराष्ट्र मन्त्रालयले यस द्वन्द्व र यसका प्रभावहरूलाई गम्भीरताका साथ लिएको छ। "१३ जुनदेखि नै हामीले प्रेस विज्ञप्ति जारी गर्यौँ," उनले भनिन्, "त्यसपछि जुन १५ मा हामीले प्रेस एड्भाइजरी समेत जारी गरेर हाल इजरायल तथा इरानमा रहनुभएका नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिरहेका छौँ।"
उनी सम्बन्धित मुलुकहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास गरिरहेको बताउँछिन्। साथै, जुन १७ बाट अनलाइन पोर्टल खोलेर नेपाल फर्कन चाहने नेपालीहरूको विवरण संकलन सुरु गरिएको र हालसम्म ८८५ जनाले दर्ता गरिसकेको उनले जानकारी दिइन्। अबको एक-दुई दिनभित्र 'श्रम संसार' नामक मोबाइल एपलाई 'नागरिक एप' सँग जोडेर रिलिज गर्ने तयारी भइरहेको पनि उनले बताइन्, जसले विश्वभरका नेपाली नागरिकहरूलाई समेट्नेछ।
परराष्ट्रमन्त्री राणाले अवैधानिक रूपमा विदेशमा काम गरिरहेका नेपाली नागरिकलाई वैधानिक बनाउनका लागि कार्यदल गठन गरी काम अघि बढाइएको पनि उल्लेख गरिन्। उनले इजरायल–गाँजा युद्धमा बेपत्ता भएका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि पनि सरकार प्रयासरत रहेको बताइन्। हालसम्म भारतमा बन्दी बनाइएका ५७ जना नेपालीको उद्धार गरिएको जानकारी पनि उनले बैठकमा दिएकी छिन्।