ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर नबनेको प्रज्ञा प्रतिष्ठानका कुलपति राईको टिप्पणी
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
644
Shares
काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर नबनेको टिप्पणी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित ४३औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
कुलपति राईले अघिल्लो पुस्ताले आर्जन गरेका ज्ञान र नयाँ पुस्ता (जेन-जी) ले निर्माण गरिरहेको ज्ञानबीचको समन्वय कमजोर भएकोमा चिन्ता व्यक्त गरे। उनले अहिलेको शिक्षा प्रणाली, पाठ्यक्रम र कला–साहित्यको अवस्थामाथि समेत प्रश्न उठाउँदै यसका लागि राज्य र समाज दुवै जिम्मेवार हुनुपर्ने बताए।
"हामीले आर्जन गरेको ज्ञानलाई जेन-जी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने महत्त्वपूर्ण चुनौती रहेको छ," उनले भने, "हाम्रा पुर्खाहरूले आर्जन गरेका ज्ञान, हामीले उत्पादन गरेका ज्ञान र अहिलेको पुस्तालाई हाम्रो ज्ञानको सेतु कहाँ जोड्ने हो? नेपाल प्रज्ञा प्रतिष्ठानले के गर्ने हो? यसको लागि गम्भीर बहस र विमर्श गर्नुपर्ने आवश्यकता आइसकेको छ।"
उनले जेन-जी पुस्तालाई 'डिप्रेसनको सिकार मात्र मानिरहेको' र उनीहरूलाई केही पनि नदिएको भन्दै अहिलेको ललितकला, संगीतकला र साहित्य कस्तो हुनुपर्ने भन्ने विषयमा राज्य र समाज दुवैले दायित्व लिनुपर्नेमा जोड दिए।
कुलपति राईले ज्ञानको सेतु निर्माण गर्न अब राज्य र बौद्धिक समाज मिलेर साझा पहल गर्नुपर्ने आवश्यकता औँल्याए।
उनको यो भनाइले नेपालमा ज्ञानको संरक्षण, संवर्द्धन र पुस्तान्तरणमा देखिएका चुनौतीहरूलाई उजागर गरेको छ, जसले शिक्षा र सांस्कृतिक क्षेत्रमा गम्भीर छलफलको आवश्यकता देखाउँछ।