भिजिट भिसा प्रकरणसम्बन्धी पार्टीका मागहरु पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने रास्वपाको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
661
Shares
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणसम्बन्धी पार्टीका मागहरू पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने बताएका छन्। मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परियारले आफ्नो आन्दोलन यथावत् रहेको स्पष्ट पारे।
प्रमुख सचेतक परियारले भिजिट भिसाजस्तो गम्भीर मुद्दालाई सरकारले पन्छाउन खोजेको आरोप लगाए। उनले अर्को संसद बैठक असार १४ गते रहेको उल्लेख गर्दै त्यतिबेलासम्म पार्टीको मुद्दालाई थप स्थापित गर्न आवश्यक कार्यहरू गर्ने बताए।
परियारले भने, "हामीले आज सदन बहिष्कार गर्यौं। हाम्रो आन्दोलन यथावत् छ। अब असार १४ गते सदन छ। त्यो समयसम्म हामी यो मुद्दालाई थप स्थापित बनाउनको लागि के कस्ता कामहरू गर्नुपर्छ, त्यो गर्छौं। हाम्रो आन्दोलन चाहिँ यथावत् छ। यस्तो गम्भीर मुद्दालाई सरकारले जसरी पन्छाउन खोजेको छ, त्यो बन्द होस्। हाम्रो माग पूरा भयो भने हामी संसदीय प्रक्रियामा फर्किहाल्छौँ।"
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। तर, रास्वपाले उक्त समितिलाई स्वीकार नगर्ने अडान राख्दै आएको छ।
रास्वपाको यो अडानले भिजिट भिसा प्रकरणमा संसदभित्र र बाहिर राजनीतिक दबाब बढ्ने देखिएको छ। सरकारले रास्वपाका मागहरूलाई कसरी सम्बोधन गर्छ भन्ने विषय आगामी दिनमा महत्त्वपूर्ण हुनेछ।